नेपालको विश्वकप छनौटमा पुग्ने सपना पुरा भएन


नेपाल आईसीसी महिला टी–ट्वान्टी विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउन असफल भएको छ ।

आईसीसी महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत युएईसँग ४८ रनले पराजित भएपछि नेपालको ग्लोबल छनोटको यात्रा समाप्त भएको हो ।

प्रतियोगिता अन्तर्गत नेपालले पाँच मध्ये केवल तीन खेलमा जित हात पार्न सक्यो ।

नेपाल यस अघि हङकङसँग पराजित भएको थियो ।

जितका लागि चाहिएको १ सय २८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले निर्धारित २० ओभरको २ बल बाकी छदा अलआउट हुदै केवल ७९ रन बनाउन सक्यो ।

नेपाललाई पराजित गरेको युएईले लगातार ५ खेल जित्दै ग्लोबल छनोटमा स्थान सुरक्षित गरेको छ ।

नेपालका लागि इन्दु बर्माले सर्वाधिक १५ रन जोडिन् । सिता राना मगरले १३ रनको योगदान गरिन् ।

सरिता मगर ८, काजल श्रेष्ठ ८, अप्सरी बेगम ४, कविता कुँवर ४, करुणा भण्डारी २, कप्तान रुविना क्षेत्री २, कविता जोशी १ रनमा आउट भए ।

युएईका लागि समाइरा धर्निधर्काले सर्वाधिक ४ विकेट हात पारिन् । चामानी सेनेभिरत्ना र खुसी शर्माले समान दुई–दुई विकेट लिए ।

चाया मुघलले एक–एक विकेट लिए ।

यस अघि दुबईको आईसीसी एकेडेमी ग्राउन्डमा टस हारेर युएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय २७ रन जोड्यो ।

युएईका लागि चामानी सेनेभिरत्नाले सर्वाधिक ५२ रन तथा थिर्था सतिसले ४७ रन जोडिन ।

कभिसा इगोडेजले २२ रनको योगदान गरिन् ।

नेपालका लागि कविता कुँवरले सर्वाधिक २ विकेट लिइन् ।

सबनम राई, सिता राना मगर र संगिता राईले एक–एक विकेट हात पारे ।