एमालेका पाँच पदाधिकारी निर्विरोध


नेकपा एमालेको वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल निर्विरोध निर्वाचित भएका छन् । पोखरेलसहित पाँच जना पदाधिकारीहरु निर्विरोध निर्वाचित भएका हुन । उनीहरुको औपचारिक घोषणा हुन बाँकी रहेको निर्वाचन समितिले जनाएको छ । वरिष्ठ उपध्यक्ष अन्य कसैको उम्मेदवारी नपरेपछि पोखरेल निर्विरोध निर्वाचित भएको बताइएको छ ।

महासचिव पदमा पनि अरु कसैको उम्मेदवारी नपरेपछि शंकर पोखरेल निर्विरोध हुने निश्चित भएको हो । महासचिवमा विष्णु पोडेलको समेत दाबी भएपनि अन्तिममा बाहिरीएका हुन । पौडेल अब उपाध्यक्षमा प्रतिस्पर्धा गर्ने छन् ।

त्यस्तै, तीन सिट रहेको उपमहासचिव पदमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल समेत निर्विरोध निर्वाचित भएका छन् । मनोनयनको म्याद सकिँदासमेत पनि उपमहासचिव पदमा कसैको उम्मेदवारी नपरेको आयोगले जनाएको छ ।

अध्यक्ष पदमा केपी शर्मा ओली र भीम रावलको उम्मेदवारी परेको छ भने ६ जना उपाध्यक्षमा ७ जनाको उम्मेदवारी परेको छ । त्यस्तै, ७ सचिवमा ९ जनाको उम्मेदवारी परेको छ । केपी ओलीले प्रस्ताव गरेका ६ उपाध्यक्षमा घनश्याम भुसालले समेत उम्मेदवारी दिएपछि निर्वाचनमा जानुपर्ने बाध्यता भएको हो ।

त्यसैगरी ओलीद्वारा प्रस्तावित सात सचिवसँगै भीम आचार्य र टंक कार्कीको समेत उम्मेदवारी दिएका छन् । अब अध्यक्ष, उपाध्यक्ष, सचिव र केन्द्रिय सदस्य पदका लागि निर्वाचन प्रक्रिया सुरु हुने छ ।

केन्द्रीय निर्वाचन आयोगका सदस्य बाबुराम दाहालले समावेशी क्लस्टरका केन्द्रीय सदस्यहरुमा उम्मेदवारी परेकाले केन्द्रीय सदस्यमा समेत मतदान हुने बताएका छन् । अहिलेसम्म केन्द्रीय सदस्यमा कति उम्मेदवारी पर्यो भन्ने एकिन भैनसकेको आयोगले बताएको छ ।