सर्लाही काँग्रेसमा हवाई फायर देखि झडपसम्म, निर्वाचन अधिकृतसहित ५ घाइते


सर्लाही जिल्लामा नेपाली काँग्रेसको वडा अधिवेशन क्रममा आज पनि विवाद भएको छ । गोली चलेको एक दिन नबित्दै पुनः वडा अधिवेशनकै क्रममा भएको विवादले उग्र रूप लिएपछि झडप भएको हो ।

सो झडपमा परी मतदान अधिकृत सहित ५ जना घाइते भएका छन् । सर्लाहीको निर्वाचन क्षेत्र ४ स्थित बलरा नगरपालिका वडा नम्बर ८ वडा अधिवेशन गराउन पुगेका मतदान अधिकृत उमेशचन्द्र झामाथि आक्रमण भएपछि प्रहरीसँग झडप भएको थियो ।

सो झडपको क्रममा ५ जना घाइते भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले जानकारी दिए । वडा अधिवेशनकै क्रममा मतदान अधिकृत झामाथि हातपात हुन थालेपछि प्रहरी बचाउनका लागि प्रयास गर्ने क्रममा प्रहरीसँग झडप भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी खतिवडाले बताए ।

झडपमा परेर झासहित ३ जना प्रहरी र एक जना सर्वसाधारण घाइते भएको उनले बताए । निर्वाचन अधिकृतको टाउकोमा चोट लागेको छ भने एक जना प्रहरी निरीक्षकको हात भाँचिएको उनले बताए ।

सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंह पक्षधरले मतदान अधिकृतमाथि हातपात गर्नै लाग्दा प्रहरीले उनको सुरक्षाका लागि मलंगवा लैजाने क्रममा प्रहरीसँग झडप भएको काँग्रेस सर्लाहीका सभापति नागेन्द्र रायले बताए ।

यस अघि सोही क्षेत्रमा आइतबार साँझ वडा अधिवेशनकै क्रममा प्रदेश २ का महिला बालबालिका तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहका पिएसओले हवाई फायर गरेका थिए ।