१३ जना प्रहरी नायव उपरीक्षकहरु दर्ज्यानी चिन्ह


काठमाडौं, १३ मंसिर । नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०७८ मंसिर १३ गतेको निर्णयले मंसिर १२ गतेबाट लागू हुनेगरी प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका १३ जना प्रहरी नायव उपरीक्षकहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।

निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच उहाँहरुलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।

समारोहमा निमित्त प्रहरी महानिरीक्षक शाहीले पदोन्नति पश्चात राज्य, नागरिक र संगठनप्रति उत्तरदायी भई नयाँ जिम्मेवारी अनुसार संगठनको आशा र भरोसा पूरा हुनेगरी काम गर्न निर्देशन दिनुभयो । पदोन्नतिले दर्जा अनुसारको जिम्मेवारी बढ्ने र संगठनप्रति थप उत्तरदायी हुनुपर्ने भएकोले प्राप्त अनुभव र जिम्मेवारीलाई संगठन र राज्यप्रति जवाफदेही भई बफादार रुपमा कार्य गर्नुपर्ने उहाँले बताउनुभयो ।

नागरिकले राज्यको तर्फबाट प्रहरीको उपस्थिति खोज्ने भएकोले संविधान र ऐन कानुनको अधिनमा रही प्राप्त जिम्मेवारी अनुसार भूमिका निर्वाह गरी नागरिकमा प्रहरीको उपस्थिति झल्काउनुपर्ने बताउनुभयो ।

उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तब्य व्यक्त गर्दै प्रहरी नायव उपरीक्षक अनिश कुमार कर्णले मस्तिष्कमा समझदारी, काँधमा जिम्मेवारी र हृदयमा ईमानदारीताका साथ पदोन्नतिसँगै थपिएको जिम्मेवारी पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।