सर्वोच्च अदालतमा आजदेखि गोलाप्रथाबाट मुद्दाको पेशी तोक्न शुरुवात हुदै


काठमाडौं, मंसिर १५ । सर्वोच्च अदालतमा आजदेखि गोला प्रथाबाट पेशी तोकिने भएको छ । प्रधानन्यायाधीश बाहेकका न्यायाधीशहरुको फुलकोर्ट वैठकले गोला प्रथाबाट पेशी तोक्ने निर्णय गरे अनुसार आजदेखि उक्त प्रक्रिया अवलम्बन गर्न लागिएको हो । पटक पटक छलफलमा आउने तर अघि नबढ्ने हुँदै आएको गोला प्रथा प्रक्रियाले पेशी तोक्ने प्रधानन्यायाधीशको तजविजी अधिकार भने कटौती गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै भईरहेको आन्दोलनबाट निकासको रुपमा पनि यसलाई ब्याख्या गरिएको छ । मुद्दाको पेशीको बिषयमा न्यायालयमा बारम्बार भइरहने बिबाद पनि अन्त्य हुने अपेक्षा गरिएको छ । अहिलेसम्म सर्वोच्च अदालतमा प्रधानन्यायाधीश र उच्च अदालतमा मुख्य न्यायाधीशहरुले दैनिक रुपमा मुद्दाको पेशी तोक्दै आएका थिए ।