नेपाली कांग्रेस मोरङको सभापतिमा डिगबहादुर लिम्बू


नेपाली कांग्रेसको १४ औँ अधिवेशनबाट मोरङमा नेपाली कांग्रेस सभापतिमा डिगबहादुर लिम्बू विजयी भएका छन्। मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा सभापति शेरबहादुर देउवानिकट रहेका उम्मेदवार दिलीप गच्छादारलाई पराजित गर्दै सभापति पदमा लिम्बू विजयी भएका हुन्।

सभापतिमा निर्वाचित लिम्बू शेखर कोइरालाकै समर्थनमा उम्मेदवार बनेका थिए। १३ औं अधिवेशनमा देउवा पक्षमा रहेर मोरङ सभापतिमा निर्वाचित भएका लिम्बू निर्वाचित भएलगतै डाक्टर शेखर कोइराला पक्षमा खुलेका थिए।

आइतबार भएको निर्वाचनको पहिलो चरणमा तीनजनामध्ये कुनै पनि उम्मेद्वारले ५१ प्रतिशत मत पाउन नसकेपछि मोरङ कांग्रेस सभापतिका लागि मंगलबार पुनः मतदान भएको थियो।

कोइराला पक्षका लिम्बू, सस्थापनका गच्छदार र सिटौला पक्षबाट यदु विष्टबीचको प्रतिस्पर्धामा लिम्बू र गच्छदार मात्रै दोस्रो चरणमा प्रतिस्पर्धामा गएका थिए।

मंगलबार पुन मतदान हुँदा ३ हजार ३ सय ६० मत खसेको थियो। जसमा लिम्बूले एक हजार ९ सय ६ मत पाए । गच्छदारले एक हजार ४ सय २२ मत प्राप्त गरेका थिए।

संस्थापन पक्षका उम्मेद्वारलाई कृष्णप्रसाद सिटौला पक्षले सघाउने घोषणा गरेपछी मोरङमा आफू बलियो बनेको प्रचार देउवा पक्षले गरेको थियो।