कोरोना राहत लिई कार किन्नेलाई ९ वर्ष जेल


अमेरिकाका एक व्यक्तिलाई कोरोना भाइरस कोभिड–१९को राहत लिएर विलासी जीवन बिताउन थालेको भन्दै जेल सजाय सुनाइएको छ। सीएनएनका अनुसार होउस्टनमा बस्दै आएका ३० वर्षीय ली प्राइस तेस्रोलाई सोमबार ठगी र झुटो विवरण बुझाएको आरोपमा नौ वर्षको जेल सजाय सुनाइएको हो।

अमेरिकाको न्याय मन्त्रालयका अनुसार गत सेप्टेम्बर महिनामा ली प्राइसले झुटो विवरण पेश गरेर विलासी जीवनको लागि राहत लिएको खुलेको थियो। अमेरिकाले साना व्यवसायलाई आफ्नो काम जारी राख्न र आफ्ना कर्मचारीलाई काममा कायम राख्न पे चेक प्रोटेक्सन प्रोग्राम पीपीपी ऋणको योजना ल्याएको थियो। यो कार्यक्रम २०२१ मे ३१ मा सकिएको थियो।

ऋण आवेदनको माध्यमबाट प्राइसले २६ लाख डलर लिन खोजेका थिए र अन्तिममा १६ लाख डलर पाएका थिए। उनले दुई ठाउँमा पीपीपीको लागि आवेदन दिएका थिए। उनले दुवै तर्फबाट ऋण पाएका थिए। उनले एक महिनामै उक्त रकम खर्च गरेका थिए।

प्राइसले ओहायोस्थित एक बासिन्दाको नामबाट निर्माण कम्पनीको भन्दै पीपीपीको लागि आवेदन दिएका थिए। आवेदन दिनुभन्दा पहिला नै ती बासिन्दाको मृत्यु भएको थियो। उनले उक्त कम्पनीमा ३० कर्मचारी रहेको र उनीहरुको औसत मासिक तलब ३ लाख डलर रहेको उल्लेख गरेका थिए। यसलाई पुष्टि गर्न उनले कर तिरेको नक्कली विवरण पेश गरेका थिए।

सन् २०२० मे ३ मा पहिलो ऋण पाएसँगै उनले ८५ हजारको फोर्ड–३५० कार किनेका थिए। त्यस्तै जुन २३ मा पनि उनले सोही आवेदन प्रयोग गरी पाएको दोस्रो ऋणमध्येबाट १४ हजारभन्दा धेरैको रोलेक्स घडी खरिद गरेका थिए भने २ लाख ३३ हजार डलरको ल्याम्बोर्गिनी उरुस कार खरिद गरेका थिए। प्राइसले पाएको मध्ये ७ लाख डलर जफत गरिएको छ।

अमेरिकाको संघीय अनुसन्धानकर्ताले यो कार्यक्रमअन्तर्गत ५० करोड डलरभन्दा धेरै रकम हिनामिना भएको उल्लेख गरेका थिए। यो क्रममा ४ सय ७४ जना मानिसमाथि मुद्दा चलाइएको छ।