टेनिस खेलाडी पेङको अवस्था सार्वजनिक गर्न भन्दै चीनमा हुने टेनिस प्रतियोगिता स्थगित


विश्वभर महिला टेनिसलाई नियन्त्रण गर्ने संस्था महिला टेनिस एशोसिएसनले चीनमा हुने सबै टुर्नामेन्ट तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको छ ।

चिनियाँ टेनिस खेलाडी पेङ सुआईको सुरक्षामा चिन्ता व्यक्त गर्दै एशोसिएसनले प्रतियोगिताहरु स्थगित गर्ने निर्णय गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

एशोसिएसनका प्रमुख स्टिभ साइमनले भनेका छन्, पेङ स्वतन्त्र र सुरक्षित छिन् भन्ने कुरामा मलाई गम्भीर आशंका छ । यस्तो अवस्थामा आफ्ना खेलाडीहरुलाई त्यहाँ खेल भनेर कसरी भन्न सक्छु ?’

उनले सन् २०२२ मा चीनमा हुने प्रतियोगितामा खेलाडी तथा कर्मचारीहरुलाई हुनसक्ने खतराबाट आफू चिन्तित रहेको उल्लेख गरेका छन् ।

महिला डबल टेनिसकी पूर्व नम्बर १ खेलाडीसमेत रहेकी पेङले नोभेम्बर २ मा चीनका एकजना भूतपूर्व उपप्रधानमन्त्री झाङ गाओलीमाथि यौन दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् । त्यसयता ३५ वर्षीया पेङ कुनै पनि सार्वजनिक स्थानमा देखिएकी छैनन् ।

पेङको अवस्था सार्वजनिक गर्न भन्दै विश्वव्यापी दबाब बढिरहेका बेला गत आइतबार चिनियाँ सरकारी समाचार माध्यम ग्लोबल टाइम्सले उनको एक भिडियो सार्वजनिक गरेको थियो । उक्त ३० मिनेट लामो भिडिओमा पेङले ओलम्पिक कमिटीका अध्यक्षसँग भिडिओ कलमार्फत् कुराकानी गरेको देखिन्छ । भिडिओमा उनले आफू सुरक्षित र सकुशल रहेको बताएकी छन् ।

गत मंगलबार चिनियाँ विदेश मन्त्रालयले पेङको विषयलाई केही मानिसले ‘गलत नियत राखेर चर्काइरहेको’ र ‘राजनीतीकरण गरिएको’ जनाएको थियो । तर एशोसिएनले पेङ सुरक्षित रहेको भन्ने कुरामा पर्याप्त प्रमाण नरहेको जनाएको छ ।