विश्व बैंकले रोक्का गरेको २८ करोडा डलर अफगानिस्तानलाई सहयोग दिने


विश्व बैंकले अफगानिस्तानलाई रोक्का गरिएको २८ करोड डलर बराबरको रकम सहयोग संगठनलाई दिने तयारी गरेको छ। विश्व बैंकका सञ्चालक समितिले अफगानिस्तानलाई सहयोग उपलब्ध गराउनुपर्ने बताएको समाचार संस्था रोयटर्सले बताएको छ।

स्रोतका अनुसार अफगानिस्तानमा पछिल्लो समय देखिएको मानवीय संकटलाई ध्यानमा राख्दै बोर्डले उक्त रकम अफगानिस्तानलाई दिनुपर्ने बताएको हो।

विश्व बैंकको मातहतमा रहेको अफगानिस्तान रिकन्स्ट्रक्सन ट्रस्ट फन्ड एआरटीएफका ३१ दाताले यो कोषको पैसा विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपी र युनिसेफको खातामा ट्रान्सफर गर्नको लागि अनुमति दिनुपर्ने हुन्छ।

शुक्रबार उनीहरुको बैठक बस्ने अपेक्षा छ। यो बैठकले प्रस्ताव पारित गरेको अवस्थामा अफगानिस्तानको लागि २८ करोड डलर बराबरको सहयोग प्रदान गर्न सकिनेछ।

तालिबानले अफगानिस्तानलाई आफ्नो कब्जामा लिएसँगै अफगानिस्तानका ३ करोड ९० लाख मानिसले आर्थिक समस्याको सामना गरिरहेका छन्। यस्तोमा हिउँदयाममा उनीहरुको खाद्य संकटको सामना गर्नुपर्ने अनुमान छ।