मनाङमा हिमपात डाँडाकाँडा सेतै


हिमाल पारीको जिल्ला मनाङमा हिजोदेखि हिँउ परेकाले डाँडाकाँडा सेताम्य बनेका छन् । माथिल्लो मनाङ र नार्पाभूमिका बस्तीमा बिहीबारदेखि हिमपात भइरहेको स्थानीयले बताए ।

माथिल्लो मनाङको थोराङलाफेदी, याकखर्क, बेसक्याम्प, तिलिचो क्षेत्रमा हिउँ परेको छ । मनाङका प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको बस्तीमा हिमपात भएको बताएका छन् ।

मनाङ ङिस्याङ गाउँपालिकाको हुम्देदेखि माथिल्लो भागमा हिउँ परेको छ । जिल्ला प्रशासन कार्यालय मनाङले उच्च पहाडी र हिमाली भूभागमा हिमपातका कारण तापक्रममा गिरावट आई चिसो वढ्न सक्ने हुनाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

हिउँ परेपछी तल्लो क्षेत्रमा पनि चिसो बढेको छ । मनाङको ढिकुरपोखरी ९३,२४० मि देखि माथिल्लो क्षेत्रमा हिमपात भइरहेको प्रजिअ आचार्यले बताए । हिउँ पर्न थालेपछि चिसो बढेको मनाङबासीले बताएका छन् ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप मनाङका प्रमुख लेखनाथ गौतमले माथिल्लो क्षेत्रमा हिमपात भएकाले पर्यटकलाई गन्तव्यतर्फ नजान भनिएको छ ।

उनले भने मौसममा सुधार आएपछि मात्र पर्यटकलाई गन्तव्यमा जान एक्याप मनाङले अनुरोध गरेको बताएका छन् । मौसमममा आएको एक्कासी परिवर्तनले हिमाली क्षेत्रमा हिँउ पर्नुका साथै पहाड र तराई पानी परेको हो ।