रुकुममा जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जना घाइते, चालक फरार


काठमाडौं, मंसिर २१। रुकुम पश्चिमको मुसीकोट नगरपालिका–२, स्थित बरेली बजारमा जन्ती बोकेको बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन् ।सोमबार बाँफिकोट गाउँपालिका–२, को पिपलबाट मुसीकोट नगरपालिका–१, घिमानेतर्फ जाँदै गरेको ग १ ख २१०९ नम्बरको बस दुर्घटनामा परेको हो ।

त्यहाँको जिल्ला प्रहरी कार्यालयले घाइते सबैको उद्वार गरी जिल्ला अस्पताल पुर्‍याइएको जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बस सडकबाट झण्डै डेढ सय मिटर तल खसेको थियो । बस दुर्घटनापछि चालक भने फरार रहेका छन् । अहिले प्रहरीले उनको सोधखोज गरिरहेको बताइएको छ । झरीका कारण सडक चिप्लो हुँदा बस चिप्लिएको हुन सक्ने बताइएको छ ।