जावलाखेलको सहकारीको सिफारिसमा दुबई हिँडेका ७६ जनालाई किन फर्कायो अध्यागमनले?


काठमाडौं, मंसिर २१। सहकारीको सिफारिसमा शंकास्पद तरिकाले दुबई जान लागेका ७६ जनालाई अध्यागमन विभागले रोकेको छ। आइतबार राति नेपाल वायुसेवा निगमको जहाजबाट दुबई उड्न लागेका ललितपुरका ७६ जनालाई अध्यागमनले फिर्ता गरेको हो। ललितपुरस्थित शुभेच्छा बहुउद्देश्यीय सहकारी संस्थाको नाममा कागजात बनाएर दुबई भ्रमणमा हिँडेका उनीहरूलाई शंका लागेर अध्यागमन विभागले रोकेको अधिकारीहरूले बताए।

फर्काइएकामा ७० प्रतिशत महिला र अरू पुरूष रहेको अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले बताए। विभागको विमानस्थल डेस्कका अनुसार सहकारीको लेटरप्याडमा उनीहरूले दुबई भ्रमणको कागजात बनाए पनि त्यसमा शंका उठेको छ। दुबई जान लागेकामध्ये केहीको कागजात पुगेको देखिएको थियो।

कागजातमा शंका उठेका आधाभन्दा बढी फर्किने भएपछि जहाज चढिसकेका उनीहरू पनि ओर्लेका थिए। ‘झन्डै एक करोड खर्च हुने गरी भ्रमणमा निस्केका र सहकारीको नियम विनियमअनुसार कागजात नपुगेको देखिएपछि हामीले फर्काएका हौं,’ भट्टराईले  भने। यस्तो भ्रमण सहकारीको उद्देश्यभित्र पर्छ पर्दैन, विनियम र विधानभित्र पर्छ पर्दैन भनी सरोकारवाला एजेन्सीहरूसँग परामर्श गर्दा छानबिन गर्नुपर्ने देखिएको भट्टराईले बताए।

‘अधिकांश महिला र त्यसमाथि कागजात र उद्देश्य स्पष्ट थिएन, हामीले रोकेर सोधीखोजी गर्‍यौं, उहाँहरू डराउनुभयो,’ विभानस्थलको अध्यागमन डेस्कका एक अधिकृतले भने। ती अधिकृतका अनुसार केही मानिसहरूको कागजात ठिकठाक थियो। उनीहरू अगाडि गएर जहाजमा चढिसकेका थिए। तर, पछाडिको लाइनमा रहेकाहरूको कागजात शंकास्पद देखियो। कागजातमा शंका उठेपछि अध्यागमन कर्मचारीले सहकारी विभागमा बुझ्छौं भने।

‘विभागमा बुझ्नु पर्दैन, हामी जाँदैनौं भनेर उनीहरूले झन् शंकाको ठाउँ दिए, पछाडिका मानिसहरू फर्किने भएपछि जहाज चढिसकेका व्यक्तिहरू पनि हामी पनि जान्नौं भनेर फर्किए,’ विमानस्थलस्थित अध्यागमन डेस्कका प्रमुख पुष्प शाहीले भने। यसरी उनीहरू फिर्ता हुने भएर कागजात हेर्न थालिएपछि हो-हल्ला भएको थियो। प्रहरी पुगेर ती कागजात अनुसन्धानका लागि लिएको छ।

‘यी कागजात सहकारीको वार्षिक कार्यक्रमभित्र पर्छन् पर्दैनन्, वार्षिक एक करोड खर्च गरेर विदेश भ्रमण गराउने गरी उसको नाफा के कस्तो हो अनुसन्धान गर्नुपर्ने भएको छ,’ उनले भने।सहकारीको भ्रमणमा जाने व्यक्तिहरू सेयर सदस्य हुन् होइनन्, भएका भए उनीहरूबाट सहकारीले कति निक्षेप राख्ने गरेको छ छैन भन्ने पनि अनुसन्धानको चरणमा छ। ‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले यो विषय हेर्छ, अहिले चाहिँ हामीले सहकारीको नियामक निकायसँग कुरा गरिरहेका छौं,’ अध्यागमन स्रोतले भन्यो।

शुभेच्छा सहकारीका अध्यक्षको सही रहेको लेटरप्याडमा डिसेम्बर ५ तारिखका दिन उनीहरूको भ्रमणको सिफारिस गरेको देखिन्छ। उनीहरू चार दिन भ्रमण गरेर डिसेम्बर १० मा फर्किने उक्त लेटरप्याडमा उल्लेख गरिएको छ।‘सहकारीको वास्तविक कार्यक्रम नहुन पनि सक्छ, केही व्यक्तिको कागजातमा शंका छैन, उनीहरूको साथमा छिराएर मानिस पठाइएको हुनसक्छ,’ अध्यागमन स्रोतले भन्यो। अध्यागमन अधिकारीहरूले टिकट काट्ने ट्राभल एजेन्सीलाई पनि सोधपुछ गरेको छ। एजेन्सीले टिकट काटिदिनु भनेपछि आफूले बिना सोधपुछ काम गरिदिएको बताएको छ।