दैनिक १८ घण्टाभन्दा बढि काम गरी १७ करोड सहयोग


हेम माया फाउण्डेशनका अध्यक्ष हेम थापाका दम्पतीले अमेरिकामा काम गरी नेपालीलाई सहयोग गरेका छन् । श्रीमान् थापा र श्रीमती माया थापाले अमेरिकामा दैनिक १८ घण्टा भन्दाबढि काम गरी दुःखमा परेका नेपालीलाई सहयोग गर्दै आएका हुन ।

आफ्नो बाल्यकालमा भोगेका भोगाईहरुको स्मरण गर्दै २० वर्षभन्दा बढि कमाएको कमाई नेपालीहरुलाई नै सहयोग गरेका हुन । समाजसेवी थापाले नेपालमा प्राकृतिक प्रकोप तथा समस्यामा परेका विभिन्न व्यक्ति तथा पीडितहरुलाई १७ करोड रुपैयाँभन्दा बढि सहयोग गरेको बताएका छन् ।

आफ्नो जीवनमा खाने लगाउने बाहेक व्यक्तिगत रुपमा कुनै पनि सम्पत्ति नराखेको भन्दै आफुहरुको कमाई नै समुदाय भएको बताए ।

पाँच पटकसम्म कार दुर्घटनामा परि हात, घुडा र ढाडको जटिल सल्यक्रिया गर्दा समेत पुनः काममै लागेर दुःखी पीडितहरुलाई सहयोग गर्ने अभियानलाई निरन्तरता दिएको उनले बताए ।

कलाकार, समाजसेवी, सामाजिक अभियान्तालगायतलाई सहयोग गरेर कहिल्यै थकाई नमार्ने उनले बाल्यकाल देखि नै सहयोग गर्ने गरेको स्मरण गर्छन । श्रीमती माया थापाले समेत उनको सहयोगी हातमा हात मिलाई साथ दिएको बताइन ।