मन्त्री यादव कूटनीतिक मर्यादा विपरित भारत छिरिन्


भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव एउटा बिहेमा सहभागी हुन सुटुक्क भारततर्फ प्रस्थान गरेकी छन् । नेपालसँग सीमा जोडिएको बिहारको मोतिहारी जिल्लामा रहेको उनको माइती परिवारकै एक सदस्यको बिहेमा सहभागी हुन उनी विराटनगर हुँदै जोगवनी नाकाबाट गएकी हुन् ।

देशको मन्त्री अर्को देश जानका लागि प्रधानमन्त्री कार्यालयमार्फत परराष्ट्र मन्त्रालयबाट अनुमति लिनुपर्छ तर मन्त्री यादवले त्यस्तो कुनै अनुमति नलिएको स्रोतले बतायो ।

जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य समेत रहेकी मन्त्री यादव मंसिर १८ गते विराटनगर पुगेर पार्टीको एउटा कार्यक्रममा सहभागी भएकी थिइन् । कार्यक्रम सकाएर उनी गाडीबाट भारत छिरेकी हुन् । उनको साथमा छोरा अभिषेक यादव पनि भारततर्फ गएका छन् । अभिषेक यादव प्रदेश २ का प्रदेशसभा सदस्य हुन् ।