कांग्रेस प्रभावशाली नेता अमरेशकुमार सिंह पार्टी भित्रै पराजित


नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंह पार्टी महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्।

सर्लाही क्षेत्र नम्बर ४ मा भएको अधिवेशनबाट उनी महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन्।

आफू महाधिवेशन प्रतिनिधिमा पराजित भएको सिंहले सेतोपाटीलाई बताए। सिंहको २४८ मत मात्रै आएको थियो।

सिंह पक्षका नेता तथा कार्यकर्ताहरू क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन्। यहाँ सभापति शेरबहादुर देउवानिकट नेता तथा कार्यकर्ताले अधिवेशन जितेका छन्।

सिंह केन्द्रीय सदस्य शेखर कोइरालानिकट मानिन्छन् । सर्लाहीमा क्रियाशील सदस्यताको फारम वितरणदेखि नै संस्थापन पक्षले एकलौटी गरेको आरोप थियो।

क्रियाशील सदस्यताकै विवादले यहाँ पटकपटक कार्यकर्ताबीच झडप र प्रहरीले हवाइफायरसमेत गर्नुपरेको थियो।

सर्लाहीका प्रतिनिधि सभा क्षेत्रमा अझै अधिवेशन सकिएको छैन। कतै आज चुनाव र कतै मतगणना बाँकी नै छन्।

सर्लाही कांग्रेस सभापति नागेन्द्रकुमार रायले क्षेत्र नम्बर ३ मा उम्मेदवारी फिर्ता लिने समय आज रहेको बताए। क्षेत्र नम्बर १ मा भने मतगणना जारी रहेको र क्षेत्र नम्बर २ मा आज बिहान ९ बजेदेखि मतदान सुरू हुने उनले बताए।

क्षेत्र नम्बर ४ मा महाधिवेशन प्रतिनिधिमा अमरेशकुमार सिंह पराजित भएको उनले बताए। यो क्षेत्रमा रामआश्रयप्रसाद साह क्षेत्रीय सभापति भएका छन्, उनी सभापति देउवा पक्षका हुन्। क्षेत्र नम्बर ४ मा प्यानल नै सिंहइतरकाले जितेको हो ।