जनजाति तर्फको सह–महामन्त्रीमा सीता गुरुङको उम्मेदवारी घोषणा


कांग्रेस नेतृ एवम् पूर्वराज्यमन्त्री सीता गुरुङले केन्द्रीय सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् । उनले आदिवासी जनजातितर्फ सहमहामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।

सभापति शेरबहादुर देउवानिकट नेतृ गुरुङ हाल केन्द्रीय आदिबासी जनजाति विभागकी प्रमुख समेत हुन् ।

कांग्रेसले यसपटक खस आर्य, महिला, मधेशी, आदिबासी जनजाति र दलितसहित ८ वटा समावेशी समूहबाट सह–महामन्त्री बन्ने व्यवस्था छ । ‘पार्टीको पदाधिकारीमा महिलाको संख्या बढ्नुपर्छ, मैले लामो समयदेखि पार्टी र आदिबासी जनजाति समुदायको कार्य गर्दै आएको छु,’ गुरुङ सञ्चारकर्मीसँग भनिन्, ‘त्यहीकारण पनि मैले महिलातर्फ होइन, आदिबासी जनजातितर्फ नै सहमहामन्त्रीको दाबी गरेकी हुँ ।’

तेह्रथुमको आठराईमा जन्मिएकी नेतृ गुरुङ नेविसंघको जिल्ला तहको नेतृत्वमा थिइन् । नेपाल महिला संघको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य र केन्द्रीय महासचिव समेत भएर काम गरिन् ।

पार्टीको १२ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी गुरुङ १३ औ महाधिवेशनबाट आदिवासी जनजाति महिलातर्फ सर्वाधिक भोटसहित निर्वाचित नेतृ हुन् ।

०७४ सालको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा कांग्रेसबाट प्रत्यक्षतर्फ ७ महिलाले निर्वाचन लडेका थिए । तीमध्ये गुरुङ प्रदेश १ कै एक्ली उम्मेदवार हुन् । वाम गठबन्धनका कारण उनी तेह्रथुममा झिनो मतले मात्रै पराजित भइन् । दुवै संविधानसभामा सदस्य रहेकी गुरुङ संविधान मस्यौदा समितिकी सदस्यसमेत हुन् ।

उनी ०७४ को देउवा सरकारमा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री बनेकी थिइन् । कांग्रेसमा यतिबेला कसले उमेदवारी पाउने भन्ने बारेमा हान थाप सुरु भएको छ ।