भारतीय सेना प्रमुख चढेको हेलिकप्टर दुर्घटना


काठमाडौं, मंसिर २२। तमिलनाडुको नीलगिरी जिल्लाको कुन्नुरमा आज बुधवार भारतीय सेनाको हेलिकप्टर दुर्घटनामा परेको छ । दुर्घटनाग्रस्त हेलिकप्टरमा भारतीय सेना प्रमुख सीडीएस बिपिन रावत आफ्ना कर्मचारी र परिवारका सदस्यसहित सवार रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हेलिकप्टरमा सेनाका केही उच्च अधिकारी समेत रहेको बुझिएको छ ।

हेलिकप्टरमा १४ जना सवार रहेको एएनआईले जनाएको छ । हेलिकप्टरमा सवार सबै एक कार्यक्रममा सहभागी हुन गइरहेका थिए । दुर्घटनाग्रस्त हेलिकप्टरबाट तीन जनालाई बचाइएको र तीमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

दुर्घटनाग्रस्त भएको सेनाको यो हेलिकप्टर एमआई सिरिजको थियो । यसमा दुई वटा इन्जिन हुन्छ र यसलाई सुरक्षित मानिन्छ । दुर्घटनाको विस्तृत विवरण भने आइनसकेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।