वीरगन्ज भन्सार क्षेत्रमा निर्माणाधीन होल्डिङ्ग सेन्टर दुई महिनामै सञ्चालनमा आउने


काठमाडौं, मंसिर २३। कोरोना संक्रमण महामारीलाई मध्यनजगर गर्दै वीरगन्जमा निर्माण भइरहेको होल्डिङ्ग सेन्टरको काम अन्तिम चरणमा पुगेको छ । नेपाल सरकारले कोरोना संक्रमितहरुलाई राख्नका लागि मुलुकको ४ स्थानमा होल्डिङ्ग सेन्टर निर्माण गर्ने निर्णय गरेको थियो, जसमा वीरगन्जमा पनि १ हजार बेड क्षमताको होल्डिङ्ग सेन्टर निर्माण कार्य शुरु गरिएको थियो ।

कोरोना संक्रमणको सम्भावित तेश्रो लहरलाई मध्य नजर गर्दै २८ करोडको लागतमा क्वाराईन्टिन सेवा प्रवाह गर्ने उद्देश्यले वीरगंज भन्सार क्षेत्रमा होल्डिङ्ग सेन्टर निमार्ण कार्य शुरु गरिएको थियो । निर्माण कार्य शुरु भएको करिब ५ महिनाको अवधिमा ७० प्रतिशत काम सम्पन्न भएको र बाँकी ३० प्रतिशत काम डेढ दुई महिना अवधिभित्र सम्पन्न हुने वीरगन्ज स्थित नेपाली सेनाले जानकारी दिएको छ ।

नेपाल सरकारले नेपाली सेनाको निगरानीमा बीरगंज भन्सार कार्यलयको गोदाममा करिब १ हजार व्यक्ति अटाउन सक्ने क्षमताको होल्डिङ्ग सेन्टर निमार्ण कार्य शुरु गरेको थियो । कोरोना रोकथान तथा नियन्त्रणका लागि भारतबाट बीरगंज नाकाहँदै भित्रिने नेपाली नागरिकहरुलाई क्वारिन्टाइनमा राखी खान, बस्न तथा चिकित्सा सेवा निःशुल्क रुपमा उपलब्ध गराउने नेपाल सरकारको योजना अनुरुप होडिल्ङ्ग सेन्टर निमार्ण भइरहेको छ ।

२०७८ असार २३ गतेबाट सुरु गरिएको निर्माण कार्य तिव्र गतिमा भईरहेको छ । वीरगंज श्रीपुरमा रहेको चण्डी प्रसाद गणको नेपाली सेनाको व्यस्थापकीय जिम्मेवारीमा निर्माण भईरहेको उक्त होल्डिङ्ग सेन्टरको ठेक्का हनुमान कन्सट्रक्सन ललितपुरले लिएको छ । नेपाली सेनाको निगरानी एवं व्यवस्थापनमा होल्डिङ्ग सेन्टर निर्माण कार्य भइरहेपनि ठेकेदार कम्पनीले भने निर्माण कार्य गरि रहेको छ । क्वाराईन्टिनमा बस्नका लागि ५० जना अट्ने गरि २० वटा हल, एक प्रशासनीक भवन, एक सेन्ट्रल किचेन गरि कुल २२ भवनको निर्माण भईरहेको छ भने सुविधायुक्त शौचालय पनि निर्माण भईरहेको बताइएको छ ।

विगतको महामारीमा क्वाराईन्टिन सेन्टर नभएको कारण छिमेरी राष्ट्रबाट आउनेहरुलाई राख्न विद्यालय एवं कलेजलाई क्वारेन्टाइनको रुपमा प्रयोग गरिएको थियो, जसमा सरकारको आलोचना समेत भएको थियो । तर यतिबेला निर्माण भईरहेको होल्डिङ्ग सेन्टरले अब यो समस्याको अन्त्य हुने विश्वास लिइएको छ । भदौको मध्यसम्म काम सकाउने सम्झौता भएपनि निषेधाज्ञाको कारण लक्षित समयमा सम्पन्न हुन सम्भव नरहेकोले सो अवधिलाई बढाएर ठेकेदारसँग समंवय गरि चैत मसान्तसम्म काम सम्पन्न गर्ने योजना रहेको बताइएको छ ।

सिमाक्षेत्रबाट कोरोना फैलिन सक्ने खतारालाई मध्य नजर गर्दै बीरगंज लगायत अन्य ७ जिल्लामा करिब २ अर्बको लगानीमा उक्त होल्डिङ्ग सेन्टर निर्माण भईरहेको छ जसमा वीरगंजको भन्सार क्षेत्रमा भन्सारको गोदाममा होल्डिङ्ग सेन्टर निर्माण कार्य भइरहेको छ ।