विभाजनपछि पहिलोपटक ओली, प्रचण्ड र माधव नेपाल आज एकै मञ्चमा


काठमाडौं, मंसिर २४। आज (शुक्रबार) नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल एउटै मञ्चमा देखिने भएका छन् ।आज नेपाली कांग्रेसको १४औँ महाधिवेशन सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन सत्र दिउँसो एक बजे भृकुटीमण्डपमा हुने छ । उक्त उद्घाटन सत्रमा महिनौदेखि भेटघाट नगरेका प्रमुख तीन कम्युनिष्ट पार्टीका अध्यक्षत्रय एउटै मञ्चमा देखिने भएका हुन् ।

१४औं महाधिवेशनमा सहभागीका लागि कांग्रेसले स्वदेश तथा विदेशका प्रमुख राजनीतिक दललाई निम्ता दिएको छ । कांग्रेसको महाधिवेशनको उद्घाटन मञ्चले पार्टी फुटेपछि तीनतिर उभिएर आपसी अस्तित्व स्वीकार नगर्ने तहमा पुगेका तीन ठूला कम्युनिष्ट पार्टीका प्रमुख नेतालाई आमुन्ने–सामुन्ने बनाउने भएको हो । तत्कालिन नेकपा भंग भएपछि एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीसहित तीन समूहमा विभक्त कम्युनिष्ट पार्टीका प्रमुख नेता कांग्रेस महाधिवेशनमा शुभकामना दिन पहिलोपटक एउटै मञ्चमा भेला हुन लागेका हुन् ।

ओली–प्रचण्डबीच भेट नभएको एक वर्ष भयो भने पाँच महिनायता ओली–नेपाल पनि भेट छैन । नेकपा विभाजनपछि माओवादी र एकीकृत समाजवादी करिब पाँच महिनादेखि कांग्रेससँग सत्ता सहकार्यमा छन् भने एमाले प्रमुख प्रतिपक्षी भूमिकामा छ । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले पार्टी अध्यक्ष ओली कांग्रेस महाधिवेशनमा सहभागी हुने जानकारी दिए । ‘महाधिवेशनको निमन्त्रणा आएको छ, पार्टी अध्यक्षज्यु शुभकामना दिने कार्यक्रमका लागि सहभागी हुने तयारीमै हुनुहुन्छ,’ तामाङले भने ।

माओवादी केन्द्र र एकीकृत समाजवादी सत्तागठबन्धनमै रहेकाले दुवै पार्टीका प्रमुख नेता महाधिवेशनमा सहभागी हुने तयारीमै छन् । एकीकृत समाजवादीका अध्यक्ष नेपालका स्वकीय सचिव मोहन गौतमले महाधिवेशनमा शुभकामना दिने कार्यक्रममा अध्यक्ष सहभागी हुने बताए । ‘कांग्रेसको महाधिवेशनमा सहभागी भएर धेरैपटक उहाँले शुभकामना दिनुभएको छ, गिरिजाबाबु सभापति बनेयताका सबै महाधिवेशनमा उहाँ सहभागी हुनुभएको छ,’ गौतमले भने, ‘त्यसैले यसपटक पनि उहाँ सहभागी हुनुहुन्छ ।’

नेकपा भंग र एमाले विभाजनपछि ओलीसँग प्रचण्ड र नेपालको दूरी बढेको छ  । उनीहरूबीच संवाद टुटेको लामै समय मात्रै भएको छैन, देशव्यापी तिक्तता बढिरहेको छ  । तीनै दल आपसमा कार्यकर्ता तान्ने होडबाजीमा छन् । नेताहरूले विभिन्न मञ्चबाट आपसी घोचेपेच र जुहारी जारी राखेका छन् ।

यस्तो पृष्ठभूमिमा एउटै मञ्चमा आमुन्ने-सामुन्ने हुन लागेका नेताले कस्तो सम्बोधन गर्लान् ? सबैको चासोको विषय बनेको छ । महाधिवेशन कांग्रेसको भइरहेको भए पनि यतिबेला चर्चा ओली, प्रचण्ड र नेपालको भइरहेको छ । एक अर्काविरुद्ध कडा र चर्का कुरा गर्दै आएका यी तीन नेताले कांग्रेसको उद्धघाटनमा समेत त्यस्तै भाषण गर्ने अडकल भइरहेको छ ।