५ वर्ष ९ महिनापछि कांग्रेसको १४औँ महाधिवेशन, ५ करोड बढि खर्च हुने


पटक–पटक सर्दै आएको सत्तारूढ नेपाली कांग्रेसको १४औँ महाधिवेशन अन्ततः शुक्रवारदेखि काठमाडौंको भृकुटीमण्डवमा सुरु हुँदै छ।

पार्टीको नयाँ नेतृत्व चयन गर्ने यो महाधिवेशनमा विभिन्न पदका लागी उम्मेदवारी घोषणा गर्ने क्रम सुरु जारी नै भइसकेको छ।

महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि मतदान भने मङ्सीर २७ गते बिहानबाट सुरु हुने बताइएको छ।

प्रत्येक चार वर्षमा हुनुपर्ने नेपाली कांग्रेसको महाधिवेशन पार्टी विधानले दिएको सुविधादेखि संवैधानिक समय सीमा समेत पार गरेर ५ वर्ष ९ महिनापछि हुन लागेको हो ।
केन्द्रीय समितिका पदाधिकारी र सदस्य, सङ्घीय निर्वाचन क्षेत्रबाट चुनिएका महाधिवेशन प्रतिनिधिहरू, भातृ तथा शुभेच्छुक सङ्गठनका प्रतिनिधिहरू समेत गरेर महाधिवेशनमा झन्डै ४ हजार ७ सय प्रतिनिधि सहभागी हुने बताइएको छ।

शुक्रवारको उद्घाटन समारोहमा शुभकामना दिनका नेपालका प्रमुख राजनीतिक दल र केही विदेशी दलका नेताहरू समेत सहभागी हुने नेपाली कांग्रेसले जनाएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन समारोह सकिएलगतै बन्द सत्र सुरु गरिने कांग्रेसले जनाएको छ ।

बन्द सत्रमा महामन्त्रीको प्रतिवेदन, कोषाध्यक्षको आर्थिक लेखा प्रतिवेदन, विधानको बाधा फुकाऊ, निलम्बन अनि अनुमोदन प्रस्ताव पेस गर्ने हिजो बसेको केन्द्रिय समिति बैठकले पारित नै गरेको छ । पार्टीको नीति, अनुसन्धान र प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन पेस हुन्छ र त्यो छलफल भएर पारित भएपछि बन्द सत्र सकिने छ ।

यस वर्षदेखि कांग्रेसमा नीति बनाउन र नेतृत्व चयन गर्न फरक फरक अधिवेशन गरिएको छ।

त्यसैले अहिलेको महाधिवेशन निर्वाचनमा केन्द्रित हुने नेताहरूको भनाई छ ।

केही समय अघि सङ्घीय ढाँचा अनुरूप पार्टी विधानलाई परिमार्जन गरेको कांग्रेसले दुई जना उपसभापति र दुई जना महामन्त्री पनि निर्वाचित भएर आउने व्यवस्था गरेको छ।

त्यस्तै समावेशी सिद्धान्तका आधारमा आठ जना सह–महामन्त्री हुने व्यवस्था गरेको छ। केन्द्रीय समितिमा एक जना कोषाध्यक्ष र ३३ जना सदस्य बाहेक निर्वाचन हुने बताइएको छ।

कोषाध्यक्ष केन्द्रीय सदस्यमध्येबाट एकजनालाई सभापतिले सिफारिस गर्ने अनि केन्द्रीय समितिले अनुमोदन गर्ने व्यवस्था छ। नयाँ कार्यसमिति चयनका लागी मतदान २७ गते हुने केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले बताए।

२५ गते हामी उम्मेदवारी लिन्छौँ, २६ गते मतपत्र बनाउँछौ र २७ गते दिनभरि मतदान हुनेछ। १४ जना पदाधिकारी र अन्य विभिन्न क्ल्सटरका सदस्य गरेर २९ वटा मतपत्र हुनेछ र हामी तीन ठाउँमा मतदान गराउने तयारी भएको छ ।
विभिन्न पदका लागि नेताहरूले उम्मेदवारी घोषणा गर्ने क्रम भने सुरु भइसकेको छ।

उमेद्वारी घोषणा र दाबी
कांग्रेस भित्र युवा पुस्ताका भनिने नेताहरूले महामन्त्री, सह–महामन्त्री र केन्द्रीय सदस्य पदमा उम्मेदवार बन्ने घोषणा गरेका छन्।

पार्टी सभापति र उपसभापतिजस्ता पदमा पहिलो पुस्ताकै नेताहरूले दाबी गरिरहेका छन्। कांग्रेसभित्र संस्थापन र संस्थापन इतर भनेर चिनिने दुई वटै पक्षले सबै पदमा छुट्टाछुट्टै समूह बनाएरै निर्वाचन लड्ने सम्भावना बलियो रहेको बताइएको छ।

गत महाधिवेशनमा सभापति पदको निर्वाचनमा तेस्रो मत ल्याएका कृष्ण सिटौलाले आफ्नो छुट्टै समूह बनाउने वा अर्को समूहसँग मिलेर जाने भन्ने बारेमा निर्णय गरिसकेका छैनन्।

सरकारको नेतृत्व गरिरहेको पार्टीमा नेतृत्व चयनका लागि हुने निर्वाचनलाई राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

नेपाली कांग्रेसको गणितिय

सङ्घीयता कार्यान्वयनमा गएपछि पहिलोपटक नेपाली कांग्रेसले महाधिवेशन गर्न लागेको हो
तीन तहका पछिल्ला चुनावसँगै नेपालमा सङ्घीय व्यवस्था कार्यान्वयन भएपछि पहिलोपटक हुन लागेको नेपाली कांग्रेसको १४औँ महाधिवेशन सुरु भएके हो ।
संविधानको मर्म अनुरुप प्रत्यक्ष र समानुपातिक दुवै निर्वाचन प्रणालीबाट चयन भएर आउने प्रतिनिधिहरूले आगामी चार वर्षका लागि कांग्रेसको नेतृत्व चयन गर्दैछन्।

महाधिवेशनका विशेषता
५० प्रतिशत आधाभन्दा धेरै नयाँ क्रियाशील सदस्यता
नेपाली कांग्रेसको महाधिवेशनलाई प्रत्यक्ष असर पार्ने क्रियाशील सदस्यहरू यसपटक झण्डै आठ लाख ४० हजार कायम गरिएको सो पार्टीको केन्द्रीय कार्यालयका सचिव प्रदीप पराजुलीले बताए।
क्रियाशील सदस्यमा यसपटक नविकरण गर्नेभन्दा केही प्रतिसतले नयाँ सदस्य धेरै रहेका छन् ।

१३४ पदमा निर्वाचन हुने

यस महाधिवेशनमा पहिलोपटक सबै पदाधिकारीहरू निर्वाचित भएर चयन हुँदैछन्। केन्द्रीय समितिको १३४ पदमा निर्वाचन हुँदैछ।

१४ पदाधिकारीमा सभापतिबाहेक २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री र १ कोषाध्यक्ष चयन हुँदैछन्। कोषाध्यक्ष भने केन्द्रीय सदस्यमध्येबाट एकजनालाई सभापतिले सिफारिस गर्ने अनि केन्द्रीय समितिले अनुमोदन गर्ने व्यवस्था छ।

खुलातर्फ ३५ केन्द्रीय सदस्यको निर्वाचन हुनेछ भने बाँकी प्रादेशिक प्रतिनिधित्व एवं समावेशी प्रतिनिधित्व हुनेगरी चयन गरिँदैछ।

३३ जना केन्द्रीय समितिमा मनोनित हुने

यसपटक आठ जना सहमहामन्त्रीको व्यवस्था गरिएको छ। त्यसमा महिला, दलित, आदिवासी(जनजाति, मुस्लिम, थारू, मधेसी, खस(आर्य र पिछडिएको क्षेत्रलाई कांग्रेसको विधानले समेटेको छ।
कुल १६७ सदस्यीय केन्द्रीय समितिमध्ये २० प्रतिशत अर्थात् ३३ वटा पदमा सभापतिले मनोनित गर्न पाउँछन्।

४ हजार ७ सय महाधिवेशन प्रतिनिधि सहभागी हुने

यस महाधिवेशनमा करिब ४,७०० महाधिवेशन प्रतिनिधिहरू छन्।१६५ निर्वाचन क्षेत्रका हिसाबले प्रत्येकबाट २६ जना, जनसम्पर्क समितिबाट झण्डै १३० जना, भातृ संस्था तथा शुभेच्छुक संस्था एवं विद्यामन केन्द्रीय समितिको १ सय ३ जना गरेर महाधिवेशन प्रतिनिधिका रूपमा रहनेछन्।
प्रदेश नम्बर दुईका केही जिल्लाको भने अझै प्रतिनिधिको टुङ्गो लाग्न बाँकी रहेको कांग्रेसले जनाएको छ। कांग्रेसको महाधिवेशन सबैभन्दा तल वडाबाट अधिवेशन सुरु हुन्छ।
वडा तहमा विजयी भएकाहरू निर्वाचन क्षेत्रमा चुनाव जितेपछि मात्र महाधिवेशन प्रतिनिधिमा चुनाव लड्न पाउँछन्। महाधिवेशन प्रतिनिधिहरू मात्र केन्द्रीय समितिका पदहरूमा उठ्न र मतदान गर्न पाउँछन्।
जनसम्पर्क समिति, भातृ तथा शुभेच्छुक संस्थाबाट भने एकैपटकमा निर्वाचित वा सहमतिमा प्रतिनिधिहरू आउन सक्छन्।
प्रदेशमा जित्ने केन्द्रमा उठ्ने पद खारेज
प्रदेश अधिवेशनमा जित्नेहरूले केन्द्रीय महाधिवेशनमा उम्मेदवारी दिए भने उनीहरूको तल्लो तहको पद स्वतस् खारेज हुनेछ।
प्रदेश, क्षेत्र वा जिल्ला तहका पार्टीका निर्वाचनमा पराजित हुनेहरू केन्द्रीय कार्यसमितिमा उम्मेदवार हुन पाउने छैनन ।

कार्यपत्र प्रस्तुत हुने

शुक्रवारबाट भृकुटीमण्डपमा हुने उद्घाटन समारोह लगत्तै हुने बन्द सत्रमा महामन्त्रीको साङ्गठनिक प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन प्रस्तुत हुँदैछन्।
त्यसबाहेक महाधिवेशनले पारित गर्नुपर्ने केही विषयहरू कार्यपत्र मार्फत् प्रस्तुत हुँदैछन्।

कोभिडबाट बच्च महाधिवेशन झोलामा हुने

ओमिक्रोन भाइरस नेपालमा समेत देखा परिसकेको परिप्रेक्षमा यस महाधिवेशनमा त्यसबाट बच्नका लागि केही सामग्री महाधिवेशनको झोलामै राखिएको छ।
केन्द्रीय कार्यालयका सचिव प्रदीप पराजुली भन्छन्, त्यसमा एन(९५रसर्जिकल मास्क, स्यानेटाइजर र अनुहार छेक्ने फेसशील्ड समेत राखिनेछ।

४ देखि ५ करोड महाधिवेशनको अनुमानित खर्च
उपत्यकाका तीन जिल्लाका प्रतिनिधिबाहेकलाई नेपाली कांग्रेसले होटलको व्यवस्था गरेको जनाएको छ।
आवास, खानपान र अन्य व्यवस्थापन गरेर ४ देखि ५ करोड रूपैयाँ बीचमा खर्च हुने अनुमान गरिएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ।