सांसद हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्ने


तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएर स्वतन्त्र राजनीतिक समूह बनाएका हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । मङ्सिर २८ गते एक कार्यक्रमको आयोजना गरी जनता प्रगतिशील पार्टी नेपाल घोषणा गर्ने त्रिपाठीको तयारी छ ।

अहिले सो पार्टीमा त्रिपाठी मात्र संयोजक रहने छन् । नयाँ पार्टी घोषणा भइसकेपछि कमिटी विस्तार गर्ने त्रिपाठीले बताए । आफ्नो समूहमा रहेका बाहेकका व्यक्तिहरू पनि नयाँ पार्टीमा आउने भएकाले अहिले नै कमिटी विस्तार नगर्ने बताउँदै उनले पार्टी घोषणा भइसकेपछि मात्र कमिटी विस्तार गर्ने जानकारी दिए ।

गत निर्वाचनमा स्वतन्त्र राजनीतिक समूहका उनी लगायत नेताहरुले एमालेको सूर्य चुनाव चिन्हबाट प्रदेशसभा र प्रतिनिधि सभा चुनाव लडेका थिए । प्रतिनिधिसभामा त्रिपाठी र वृजेश गुप्ता विजयी बनेका थिए भने एकजनाले प्रदेशसभामा निर्वाचन जितेका छन् ।
त्रिपाठी एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारमा सामान्य प्रशासन र स्वास्थ्य मन्त्रीसमेत बनेका थिए । नेकपा अदालतले विभाजन गरेपछि पुर्नगठित सरकारमा ओलीले उनलाई हटाएका थिए ।