रामचन्द्र पौडेल सभापतिका उम्मेदवार हुने


नेपाली कांग्रेसको इतर समूहबाट वरिष्ठ नेता रामचन्द्र पौडेल सभापतिका उम्मेदवार हुने सम्भावना बढेको छ।पार्टीको चौधौं महाधिवेशन सुरु हुन केही घण्टा समय बाँकी रहेको अवस्थामा नेताहरुले वरिष्ठ नेता पौडेललाई सभापतिको साझा उम्मेदवार बनाउने सहमति जुटाउन लागेका छन् ।

पौडेल निवास बोहोराटारमा बसेको इतर समूहका नेताहरुको बैठकले सभापति शेरबहादुर देउवालाई बिदा गर्न पौडेललाई साझा उम्मेदवार बनाउने निष्कर्ष निकालेको हो। बोहोराटारमा भएको यो बैठकमा डा. मिनेन्द्र रिजाल, बलबहादुर केसी, महेश आचार्य, अर्जुननरसिंह केसी र गगनकुमार थापालगायत सहभागी भएका थिए।

नेताहरुले पौडेललाई सभापतिको साझा उम्मेदवारीको टुंगो लगाउन शुक्रबारै साँझ ५ बजे अनुपम फुडल्यान्डमा बैठक बसेका थिए । त्यही बैठकबाट पौडेललाई सभापतिको साझा उम्मेदवार बनाउने दिशामा नेताहरु पुगेका हुन्। नेताहरुले सभापतिको साझा उम्मेदवारका लागि पौडेलसँग पनि सम्वाद गरेका छन्। उनीहरुले पौडेलसँगको छलफल गरेपछि अन्य दाबेदारलाई पनि ब्याक गराउने तयारी गरेका छन्।

पौडेलले आफ्नो समूहको सभापतिबारेमा नेताहरुलाई छलफल गरेर निचोडमा पुग्न भनेका छन्। उनले टिमको सर्वसम्मत उम्मेदवार भए मात्रै सभापति लड्ने बताएका छन्। यस्तोमा नेताहरुले आफूहरुको टिमको नेता नै पौडेल भएको बताउँदै यो पटक पार्टीको नेतृत्व लिएर अघि बढ्न आग्रह गरेका थिए। उनीहरुले शुक्रबारै साँझ ५ बजे बसेर पौडेललाई सभापतिको साझा उम्मेदवारमा अघि सार्ने निष्कर्ष निकालेका छन्।

पौडेलले आफू राजनीति नै छाडेर बस्न पनि तयार रहेको बताएपछि नेताहरुले उनलाई अघि सर्न भनेका हुन। तपाईं त्यसो भन्न पाउनु हुन्न। हिजो पनि तपाईं नै टिमको नेता हो। आज पनि टिमकै नेता हो। तपाईले लिडरसिप गर्नुपर्छु, उनीहरुले भने, ५ बजे डिक्लियर गर्नुपर्छ। जो जो आउँछन् आउँछन्। आकांक्षीहरु नआउने आउँदैनन्। तर अब तपाईं नै लड्नु पर्छ।

नेताहरुले शशांक र शेखर कोइरालाको पनि साथ लिएर लड्न पौडेललाई सुझाउका छन्। पौडेलले महाधिवेशन उद्घाटनमा नआउने भनेपछि नेताहरु बोहोराटार पुगेका थिए। यता आजै सभापतिका उम्मेदवार विमलेन्द्र निधिले सभापतिमा पौडेल निर्विरोध हुने भए आफु सहमतिमा आउने बताएका हुन ।कांग्रेस भित्र जसरी पनि देउवालाई सभापति हुनबाट रोक्नुपर्ने पक्षमा नेताहरु लागेका हुन । रामचन्द्र पौडेल सभापतिका उम्मेदवार भएमा मात्र देउवालाई हराउन सकिने नेताहरुको बुझाई छ ।