महिला हिंसाका स्वरुप बदलिएका छन् : उपाध्यक्ष दहाल


राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहालले महिला हिंसाका स्वरुपहरु बदलिएको भन्दै त्यसलाई समयमै निरुत्साहित गर्न सबै सचेत हुनुपर्ने बताउनुभएको छ ।

‘खबर गरौं ११४५ हेल्पलाइन सेवा’को चौथो वार्षिकोत्सवको अवसरमा राष्ट्रिय महिला आयोगले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष दहालले महिला हिंसाका जुनसुकै घटनालाई पनि वेवास्ता गर्न नहुने बताउनुभएको हो ।

महिला हिंसा भनेको बलात्कार र बेचबिखन मात्रै नभएको चर्चा गर्दै उपाध्यक्ष दहालले भन्नुभयो, ‘महिला हिंसा भन्नेबित्तिकै हामी बलात्कार, चेलीबेटी बेखबिखनलाई मात्रै बुझ्ने गर्छौं । हेर्दा सानोजस्तो लाग्ने, कार्यस्थलमा, सार्वजनिक स्थलमा हुने दुव्र्यवहार र घटनाहरु पनि महिला हिंसा नै हुन् । त्यस्ता घटनाहरुको तत्काल प्रतिवाद गरेर निरुत्साहित गर्नुपर्दछ ।’

सानो लाग्ने र नपत्याउने खालका घटनालाई वेवास्ता गर्दा पछि ठूलो हिंसाको रुप लिनसक्ने भन्दै उपाध्यक्ष दहालले स–साना लाग्ने घटनाहरुलाई निरुत्साहित गर्न महिलाहरु आफै सजग हुनुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय हिंसा घटनाहरु हुँदा उजुरी पर्ने क्रम बढ्नु सकारात्मक भएको चर्चा गर्दै उपाध्यक्ष दहालले उजुरीहरुको सही निरुपण र पीडितलाई न्याय दिलाउन सबैको सकारात्मक पहल हुनु आवश्यक रहेको बताउनुभयो ।

महिला हिंसाविरुद्धका थुप्रै कानूनहरु बनेकोतर्फ स्मरण गराउँदै उपाध्यक्ष दहालले महिलामैत्री कानून बन्नुमात्रै ठूलो कुरा नभएको र त्यसको कार्यान्वयन गर्नु मुख्य कुरा भएको बताउनुभयो । विभिन्न तथ्यांकले पछिल्लो समय महिला हिंसाका विविध प्रकृतिमध्ये घरेलु हिंसाका घटनाहरु धेरै भएको भन्दै उपाध्यक्ष दहालले घरपरिवार भित्रबाटै हुने महिला हिंसा अन्त्य गर्ने वातावरण बनाउन सबैले पहल गर्नुपर्ने बताउनुभयो ।

राष्ट्रिय महिला आयोगले शुरु गरेको ११४५ हेल्पलाइन सेवाले हिंसापीडित महिलाहरुलाई धेरै सहयोग गरेको भन्दै उहाँले त्यसलाई थप प्रभावकारी बनाउन आयोगले पहल गर्नुपर्नेमा जोड दिनुभयो । सो अवसरमा आयोगले उत्कृष्ट कर्मचारीहरुलाई सम्मान गरेको थियो । सम्मानित व्यक्तिहरुलाई उपाध्यक्ष दहालले सम्मान पत्र र माला पहिराई सम्मान गर्नुभएको थियो ।