२९ डमरुलाई जन्म दिएको बघिनीको १७ वर्षमा मृत्यु


भारतको मध्य प्रदेशको पेन्च नेशनल पार्कको ‘सुपर मम’ बघिनीको मृत्यु भएको छ । कलरवाली बघिनीको नामले चर्चित यो बघिनीले सबैभन्दा धेरै डमरुलाई जन्म दिएकी थिई । यो रेकर्ड हालसम्मकै उच्च हो ।

१७ वर्षकी बघिनी पछिल्लो तीन–चार दिनदेखि बिरामी भएको बताइएको छ । बघिनीको शनिबार पेन्च नेशनल पार्कको जंगलमा मृत्यु भएको हो पार्क व्यवस्थापनले जनाएको छ । नेशनल पार्कका अधिकारीको उपस्थितिमा बघिनीको अन्तिम संस्कार समेत गरिएको छ ।

कलरवालीको नामले चर्चित बघिनीको मृत्युपछि मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहान, गृहमन्त्री नरोत्तम मिश्रा र शिक्षामन्त्री विश्वास सारंगले ट्वीट गरेर दुःख जताउँदै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

यो बघिनीको जन्म पेन्च नेशनल पार्कमा सन् २००५ मा भएको थियो र सन् २००८ मा उसले पहिलो पटक डमरु जन्माएकी थिई । सन् २००८ देखि २०२१ सम्म बघिनी ८ पटक आमा बनी र उसले कूल २९ डमरुलाई जन्म दिई ।

कलरवाली बघिनीले अन्तिम पटक जनवरीमा सन् २०२१ मा तीन डमरुलाई जन्म दिएकी थिई । सन् २०११ मा यो बघिनीले एकैपटक पाँच डमरु जन्माएकी थिई जुन आफैँमा दुर्लभ रेर्कड हो ।

पेन्च नेशनल पार्कमा यो बघिनीको घाँटीमा सबैभन्दा पहिलो यो कलर लगाइएको थियो । यसमार्फत् उसको गतिविधिमा निगरानी राखिने गर्दथ्यो ।

त्यतिबेलादेखि नै उसलाई कलरवाली बघिनीको नामले चिनिन्थ्यो । जनवरी सन् २०१९ मा आफ्ना डमरुलाई मुखले उचालेर लैजादैँ गरेको तस्बिर भइरल भएको थियो ।–एजेन्सी