देशकाे अर्थतन्त्र चुनाैतीपूर्ण अवस्थामा पुग्याे, तत्काल विदेशी सहयाेगका लागि पहल गराैँ : पूर्वगभर्नर नेपाल


काठमाडौं, फागुन २४। नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले अहिले देशकाे अर्थतन्त्र चुनौतीपूर्ण स्थितिमा पुगेको बताउनुभएको छ । पूर्वगभर्नर डा. नेपालले नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्थवार्षिक समीक्षामार्फत अर्थतन्त्र सन्तुलनमा राख्ने प्रयास गरे पनि विदेशी मुद्रा सञ्चिति घट्दै जाँदा थप चुनौतीपूर्ण देखिएको बताउनुभयो ।

आज मङ्गलवार न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै उहाँले चालु आर्थिक वर्षको सुरुवातदेखि रेमिट्यान्स लगातार रूपमा घट्दै जाँदा विदेशी मुद्रा सञ्चितिमा प्रभाव परेकाले अर्थतन्त्र थप चुनौतीपूर्ण स्थितिमा पुगेको बताउनुभएको हो । उहाँले नेपाल राष्ट्र बैंकसँग देशमा ६ महिनाका लागि मात्रै वस्तु आयात धान्न सक्ने सञ्चिति रहेको जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय मुद्रा कोषले इमर्जिङ अर्थतन्त्रका लागि ६ महिनाको आयात धान्न सक्ने विदेशी सञ्चिति हुने गर्ने बताएको उहाँको भनाइ छ । डा. नेपालले विदेशी मुद्रा सञ्चिति ‘थ्रेस होल्ड’ को मार्जिनमा नै आएकाले कुनै नितिगत सुधारसमेत गर्न सक्ने अवस्था नभएको उल्लेख गर्नुभयो । सरकारले अर्थतन्त्र सहज बनाउनको लागि तत्काल विदेशी सहयोग/अनुदानका लागि पहल गर्नुपर्ने नेपालले बताउनुभयो ।

उहाँले भन्नुभयो,‘ अहिले मुलुकको अर्थतन्त्र अत्यन्त चुनौतीपूर्ण स्थितिमा रहेको छ । सबैभन्दा ठूलो समस्या भनेकाे रेमिट्यान्स घटेको छ । पाँच महिनादेखि सञ्चिति घट्दै गएर जम्मा ६ महिनाका लागि वस्तु आयात धान्न सक्ने मात्रै छ । यो अझै घट्दै गयो भने अझै गाह्रो पर्छ । यस्तो अवस्थामा धेरै चिज गर्न सक्ने अवस्था हुँदैन । नितिगत सुधार गरेर तुरुन्त हुनसक्ने होइन । तर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्थवार्षिक समीक्षामा विदेशबाट वस्तु आयातमा गरेको कडाइले केही राहत दिन सक्छ । तर कहिलेसम्म भन्ने हो ।’ सरकारले चालु आर्थिक वर्षमा सात प्रतिशत आर्थिक वृद्धि दर हुने लक्ष्य राखे पनि पूरा नहुने पूर्वगभर्नर नेपालले दाबी गर्नुभयो । उहाँले अहिलकै अवस्थामा अर्थतन्त्र चल्ने हो भने राजस्व सङ्कलनकाे लक्ष्यसमेत पूरा नहुने बताउनुभयो ।

त्यस्तै पूर्वगभर्नर डा. नेपालले सरकारले राजस्व सङ्कलन गेरेर ढुकुटीमा थन्काउने तर खर्च नगर्ने प्रवृतिले बैंकहरूमा तरलता अभाव भएको उल्लेख गर्नुभयो । उहाँले विश्वका कुनै पनि देशमा सरकारले राजस्व उठाएर राष्ट्र बैंकमा थुपारेर राख्ने प्रचलन नभएको बताउनुभयो । सरकारले यस्तो रकम केही बैंकसँग समन्वय गरेर रकम सञ्चालन गर्न दिएर राष्ट्र बैंकले नियमन गर्दा मात्रै बजारमा तरलता सहज हुने पूर्वगभर्नर नेपालले दाबी गर्नुभयो । बैंकहरूबाट हुने कर्जा विस्तारमा नेपाल राष्ट्र बैंकले लगाम लगाउन नसक्दा बजारमा तरलता अभाव भएको उहाँको भनाइ छ ।

त्यस्तै पूर्वगभर्नर नेपालल रुस र युक्रेनबीचको तनावले नेपालमा पट्रोलियम पदार्थ तथा खाने तेलको मूल्य अझै वृद्धि हुन सक्ने बताउनुभयो । उहाँले पट्रोलियम पदार्थ तथा खाने तेलको सहज आपूर्तिका लागि समयमा नै आपूर्ति गरेर भण्डारण गर्न सरकारलाई सुझाव दिनुभएको छ । उहाँले सरकारले दुई देशबीचको तनाव कहिलेसम्म रहने निश्चित नभएकाले खाने तेललगायत कच्चा पदार्थको आपूर्तिमा समस्या भएर अभाव हुन सक्ने बताउनुभयो । रुस र युक्रेनबीचको तनावले पट्रोलियम पदार्थ तथा खाने तेललगायत खाद्यान्नको समेत मूल्य वृद्धि हुने भएकाले सरकारले पट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाउनुपर्ने नेपालले बताउनुभयो । उहाँले सरकारले पट्रोलियम पदार्थको खपत घटाएर विद्युतीय खपतमा जोड दिनुपर्ने बताउनुभयो ।

पूर्वगभर्नर नेपालले नेपालमा सामान्यभन्दा सामान्य वस्तु पनि विदेशबाट आयात गरिँदा त्यसका लागि विदेशी मुद्रा खर्च गर्नुपर्ने अवस्था रहेकाे बताउनुभयो । उहाँले डलर खर्च गर्न डलर आउने स्रोत पनि रेमिट्यान्स पाँच महिनादेखि कम हुँदै गएकाले थप समस्या आउने बताउनुभयो । चालु आर्थिक वर्षको सात महिनामा मात्रै झन्डै ४२ अर्ब ५२ करोडको ४० लाख रुपैयाँभन्दा बढीको कच्चा सोयाबिन आयात भएको छ । जसमा युक्रेनबाट ७९ करोड ४७ लाख रुपैयाँको कच्चा सोयाबिन आयात भएको छ । त्यस्तै अर्जेन्टिनाबाट सबैभन्दा बढी २७ अर्ब रुपैयाँको साेयाबिन आयात भएको छ । विभिन्न देशबाट ४२ अर्ब ५२ करोड रुपैयाँको कच्चा पदार्थ आयात हुँदा १५ अर्ब ६३ करोड रुपैयाँभन्दा बढीको सोयाबिन तेल निर्यात भएको छ । त्यस्तै चालु आर्थिक वर्षमा १२ अर्ब ३७ करोड रुपैयाँ बराबरको सनफ्लावर तेलको कच्चा पदार्थ आयात भएकोमा नाै अर्ब ५१ करोड रुपैयाँ बराबरको कच्चा पदार्थ युक्रेनबाट मात्रै आयात भएको छ ।