कल्पना दाहाल लोक दोहोरीमा कसरी लागिन ?


पछिल्लो समय नेपाली लोक दोहोरी गित क्षेत्रको भविश्य निकै उज्जवल बन्दै गएको छ । आफ्नै भाका र मौलिक कलालाई सम्मान गर्नुपर्छ भनेर युवा पुस्ता समेत लोकदोहोरीमा निकै झुमिने गरेका छन् । कलिलै उमेरमा लोक दोहोरीको क्षेत्रमा लागेर धेरै जसो कलाकारले आफ्नो जीवन समेत धान्न थालिसकेका छन् ।
पछिल्लो समयमा निकै चर्चामा आएकी यी नै उदयमान किशोरी गायिका हुन, कल्पना दाहाल ।

आधा दशकदेखि लोक दोहोरीको क्षेत्रमा चर्चामा आएकी दाहालको प्रस्तुतीलाई नरुचाउन सायद कमै होलान । उनलाई यतिबेला मुलुकभर हुने महोत्सव तथा सांस्कृतिक कार्यक्रम देखि विभिन्न स्थानमा हुने दोहोरी कार्यक्रमहरुमा जान भ्याईनभ्याई पर्ने गरेको छ । विश्वव्यापी रुपमा कोरोना महामारीमा समेत आन्तरिक काम र एल्बममा स्वर दिन व्यस्त भएकी दाहाल भने अहिले देश दौडाहामा छिन । उनको पारिवारिक जिम्मेवारी समेत निर्वाह गर्दै आफ्नो कला र गलाको क्षेत्रमा व्यस्त रहेकी दाहाललाई आफ्नै पिर मर्काले सताई रहेको हुन्छ । छिट्टै समयमा दोहोरीको क्षेत्रमा चर्चाको शिखरमा पुग्न सफल भएकी उनका भने व्यक्तिगत कथाव्यथा भिन्न छन् ।

सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाँउपालिका वडा नम्बर ५ सिपाधुसेनीमा कल्पना सामान्य किसान परिवारमा जन्मिएकी हुन । बाल्यकाल हुदैं प्रवेशिका परीक्षासम्मको शिक्षा जाल्पादेवि उच्चमाध्यामिक विद्यालयबाट अध्ययन गरेकी हुन । एसएलसी पास गरेसंगै राजधानी काठमाडौंमा सम्भावनाको खोजी गर्दै उच्च शिक्षा हासिल गरी सरकारी जागिर खाने इच्छा बोकेकी थिइन । सामान्य परिवारमा जन्मिएका दाहालका बुवा आमा पुर्खौली जीवन निर्वाहमुखी कृषि प्रणालीमै व्यस्त भएपनि साना छोराछोरीले विद्यालय जीवनसम्म खेतीपाती अनि घर गोठको काममा सघाँए ।

 

दुई दाजु गुमाउँदाको पिडा
बुवाआमा तीन दाजुभाइ र दुई दिदी बहिनीसहितको सुन्दर परिवारमा एकाएक बज्रपात पर्न गयो । अनि मनमा शान्ति हुनुका साथै रात न दिन हुन थाल्यो समयको खेलले । गायिक कल्पनाले खाउखाउ र लाउलाउ भन्ने उमेरकाा दुई दाजुहरु केही समयकै अन्तरालमा गुमाउनु प¥यो । जटिल प्रकारको रोगका कारण दुई दाजुलाई गुमाउनु पर्दा बाबुआमा र दिदी बहिनी कसको मन थामिन सक्छ होला । यता कमाउने र बुढेसकालमा हेरचाह गर्ने जवानी दुई छोरा गुमाउँदाको पिंडा कल्पनाकी आमा हिराकुमारी दाहाललाई खपि सक्नु भएन । जसको कारण अहिले आमा हिराकुमारी विरामी परेकी छन् ।

उनै गायिका कल्पनाले बुवाआमा र एक भाईलाई हेरबिचार गर्दै आएकी छन् । आमालाई उपचारका लागि कहिले राजधानी त कहिले घर सिन्धुपाल्चोक ओहोरदोहोर गर्नु उनका लागि दैनिकी जस्तै बनेको छ । पुर्खौलिघर सिन्धुपालचोकमा बुवा खेतीपाती नै गर्ने गरेका छन् । दुई दाइ गुमाउनुको पिंडा, दिर्घ रोगी आमासंगै घरपरिवारको सबै भार आफ्नै थाप्लामा बोकी कल्पना सबैलाई हसाँउन र समाजको पिडालाई शव्दमा उनेर गित संगीतमा प्रस्तुत गर्ने काममा भने मन बलियो बनाई लागि नै रहिन । कल्पनाको घरायसी पिडा यतैमै मात्र सिमित भएन २०७२ सालको विनासकारी भूकम्पबाट घरबारबिहिन भइन । मनको घर त भत्केकै थियो भूकम्पले भौतिक घर समेत भत्केपछि सबैको समस्या हेरेर चित्त बुझाउनु बाहेक अरु केही उपाय थिएन दाहाल परिवारसँग ।

 

प्रहरीमा भर्ति हुने सपना
नवप्रतिभावान गायिका कल्पना २०७१ सालमा नागरिकता बोकी श–सस्त्र प्रहरी बलमा भत्र्ति भई सरकारी जागिर खाने लक्ष्यका साथ राजधानी आएको मनमा ताजै रहेको सम्झिन्छिन । गोरी, पातली शारिरीक बनावट भएकी दाहालको फौजी पेशामा प्रवेश गर्ने इच्छा हुदाँ हुदै पनि पुरा भने हुन सकेन । किनकी राजधानी आएपनि उनका आफ्न्त र साथीहरुले तिमी शारिरीक रुपमा समेत निकै कमजोर भएकाले फौजी पेशामा भत्ति भईहाले पनि कठिनपूर्ण तालिम पार गर्न समस्या हुने भन्दै भर्ति नहुन सुझाव दिए । आफु पनि शारिरीक रुपमै कमजोरी तथा दुब्ली पातली भएकाले लामो समयसम्म तालिम गर्न नसक्ने मनस्थितिमा पुगेकी दाहालमा फौजी पेशामा भर्ति हुने सपनामा पूर्णविराम लाग्यो ।

 

लोक दोहोरीमा लोभिएको मन
कल्पना दाहाल विद्यालय तहमा अध्ययन गर्दादेखिनै लोक दोहोरीको क्षेत्रमा रुची लाख्ने, प्रतियोगिताहरुमा भाग लिने, गाँउमा पर्व तथा जात्राहरुमा समेत सुरिलो भाकामा गित गाउने उनको बानी नै थियो । सानै देखि हकी स्वभावकी इमान्दर र जेहेन्दार विद्यार्थीको वर्गमा सुचिकृत दाहाल पढाइमा समेत अव्वल थिइन । विद्यालयस्तरदेखि नै लोक गितमा रुची र प्रतिभा प्रस्तुत गर्ने दाहालको इच्छा अहिले आएर साकार बन्दै गएको छ ।

सरकारी जागिर खाने मनै देखिको इच्छा एकाएक मोडेर अहिले भने दाहाल सबै नेपालीको मन मुटुमा बस्न सकेकी छन् । रेडियो, प्रत्यक्ष दोहोरी तथा टेलिभिजनहरुमा हेरेर दोहोरी गित गाउन सिकेकी दाहालको विस्तारै कलाकारसंग भेटघाट र चिनजान समेत झाङगिदै गयो । जसको फलस्वरुप गीत संगितमा लागेर पनि चर्चा, नाम र दाम समेत कमाउन सकिदो रहेछ भन्ने मनमा आत्मविश्वास जाग्दै आयो ।

 

पहिलो स्टेज कार्यक्रम लेखनाथ महोत्सव
राजधानी आएसंगै कला र गलाकी धनी दाहाल पहिलो पटक २०७२ साल फागुन सार्वजनिक स्टेजबाट आफ्नो प्रस्तुत व्यक्त गर्ने अवसर आयो । पहिलो स्टेज कार्यक्रम त्यसमा पनि लोक दोहोरीका हस्ती तथा चर्चित लोक गायक पशुपति शर्मासँग लेखनाथ महोत्सवमा स्टेज सो गरेसँगै उनको जीवनले एक मोड पार ग¥यो । लोक क्षेत्रमा बल्ल बामेसर्दै गरेकै दाहाल एकै पटक महोत्सव त्यसमा पनि शर्मासँग दोहोरी गाउनु निकै चुनौति पूर्ण भएको अहिले पनि सम्झना छ उनको मनमा ।

कला प्रस्तुत गर्दै गर्दा उनलाई दर्शकबाट पाएको मायाले झनै आत्मविश्वास लागेको अहिले पनि सम्झिछिर्दै दर्शकले आ हा कति राम्रो गाएकी बहिनी तिम्रो भविश्य उज्जल छ यस क्षेत्रलाई निरन्तरता दिनु भनेपछि आफु यस क्षेत्रमा अझै हौसिएर लागेको बताउँछिन । जब उनले लेखनाथ महोत्सवमा प्रस्तुत देखाइन तब देशैभर हुने महोत्सवमा उनको चर्चा र माग समेत बढ्न थाल्यो ।

 

एल्बममा स्वरदेखि विदेश यात्रासम्म
सुरुका दिनमा धेरै एल्बमहरुमा स्वर नदिएकी दाहालले पछिल्ला दिनमा भने उनको प्रत्यक्ष दोहोरी मनपराएर स्वर खोज्नेहरु त्यतिकै छन् । ५० भन्दा बढि लोक दोहोरीका गीत रेकर्ड गराई सकेकी दाहाललाई समयको निकै चाप छ । मुुलुकभर मात्र होइन विदेशमा समेत दाहालको उच्च माग छ । अहिलेसम्म जापान थाईल्याण्डमा समेत पुगेर प्रस्तुती दिएकी दाहाल दुई वर्ष यदा भने विश्वव्यापी रुपमा भैलिएको कोरोना महामारीका कारण यात्रा तय हुन सकेको छैन ।

पछिल्ला समयमा भने निकै व्यस्त भएकी दाहाल कोरोनाका कारण स्टेजहरु सञ्चालन हुन नसकेर त्यती दाम कमाउन नसके पनि नाम कमाएर दुनियाँ सामु करोडौं नेपालीको रुचीमा पर्न सकेकोमा खुशी छिन । कला गला र विश्वसनियता रहिरहेमा आम दर्शकको साथले एक दिन नामका साथै इज्जत र विश्वसनियता कार्य गर्दै दाम समेत कमाउने आशा भने उनी भित्र अझै छ ।

किशोराअवस्थामा भर्खर प्रवेश गरेकी कल्पना निकै परिपक्क, लगनशिलताका साथै चन्चले स्वभाव उन विशेषता नै हो । कलिलै उमेरमा नाम कमाएकी लोक गायिका कल्पना दाहाल कुनै बेला नेपालको लोक गीतमा उदाउँदो ताराको रुपमा स्थापित हुनेमा दुईमत छैन । स्नातक तह पढाई सकेकी दाहाल संगीत कक्षामा समेत सहभागी भएकी छन् ।

 

खानपान र पहिरन
दाहाल स्थानीय खसी, बोका र लोकल कुखुरा खान निकै मन पारउँछिन । सानै उमेरमा स्वास्थ्यप्रति निकै सावधानी अपनाउने कल्पनालाई पानीपुरी र चटपटे निकै मन पर्छ । नियमित खानामा दाल, भात, गुन्द्रुक, तरकारी साग मकै रोटी उनको रोजाईका खाना हुन ।


उनलाई औपचारिक कार्यक्रमहरुमा नेपाली मौलिक पहिरन गुन्यो चोली र ढाकाको सल निकै मन पर्छ । त्यस्तै जामा, लेङगा, समेत कार्यक्रमको प्रकृतिअनुसार लगाउने गरेकी छन् । अनौपचारिक समयमा भने पाइट टिर्सट तथा सट लगाउन मन पर्छ । मन पर्ने रङमा रातो, पहेलो, निलो, सेतो, गाडा गुलावी, खैरो, पिङक रंग मन पर्ने गर्छ ।

 

घुमफिरमा अल्छी
काम विशेषले मुलुकका ५० भन्दा बढि जिल्लामा पुगी सकेकी छन् । फुर्सदको समयमा साथी तथा आफ्न्तहरुसंँग नयाँ–नयाँ ठाँउमा घुम्न जान भने उनलाई निकै अल्छी लाग्छ । विना काम घुम्नकै लागि भनेर उही कतै गएकी छैनन । फुर्सद भएमा किताव पढ्ने, फिल्म हेर्ने, गित संगित सुन्ने तथा घरकै काममा व्यस्त हुने गर्छिन ।

 

आर्दश संस्था इन्द्रेणी
उनले आमा बुवा पछिको आर्दश व्यक्ति र संस्थाको रुपमा इन्द्रेणी कार्यक्रम र यसका सञ्चालक कृष्ण कंडेललाई सम्झिन्छिन । आफ्नो गायन पेशालाई यहाँसम्म पु¥याउन सहयोग गर्ने इन्द्रेणी परिवार भएकाले कहिल्यो पनि भुल्न नसक्ने बताउँछिन । इन्द्रेणी कार्यक्रममा २०७७ साल असोज ३ गते प्रशारण भएको रमेश प्रसाईसँगको लोक दोहोरीबाटै आफूले यस क्षेत्रमा थप चर्चा र प्रसंशा कमाएको भन्दै प्रसाईलाई समेत त्यतिकै विर्सन नहुने उनको भनाई छ । यस पछि पनि दाहालले इन्द्रेणी कार्यक्रम विभिन्न कलाकारहरुसंग थुप्रै लोक दोहोरी गीतहरु प्रस्तुत गरि सकेकी छन् ।

 

लोक दोहोरी भाकालाई बचाई राख्ने अभियानमा निरन्तर लाग्ने
लोक दोहोरीका साथै गित संगितलाई जिवनत राख्ने पक्षमा उनी छन् । हाम्रो पुस्तालाई यस क्षेत्रलाई जिवन्त र संरक्षण गर्दै बचाउन सकिएमा मात्र भावी पुस्ताको समेत यस क्षेत्रमा आर्कषण बढ्ने उनको बुझाई छ ।

अग्रजलाई सम्मान र नयाँलाई आर्कषण गरी बेथिति र विसंगतिका विरुद्धमा रुपान्तरणसहितको पेशाप्रतिको सम्मान कार्यमा गर्नु आगामी चुनौति समेत रहेको अवस्थामा लोक दोहोरी क्षेत्रमा भावी पुस्ताको भविश्य उज्यालो रहेको तर्क उनको छ । संगीत मानिसको जस्तोसुकै खुशी र पिंडाको समयमा समेत साथ दिने भएकाले यसलाई सहि तरिकाले उपयोग गर्न सकेमा मानिसको जीवननै सार्थक हुने विश्वास स्वयम नर्वप्रतिभावान गायिका कल्पना दाहालले विश्वास लिएकी छन् । :– यमन पौड्याल र शिशिर नाथ