तिजको खर्च कटौति गरी शैक्षिक सामाग्री वितरण


महिला उत्प्रेरणा विकास मञ्च चन्द्रागिरी नगरपालिका–०१, दहचोकले तीजको फजुल खर्च बचत गरी बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । आज शुक्रबार तिज विशेष कार्यक्रम आयोजना गरी श्रीकृष्ण माध्यामिक विद्यालयमा अध्ययन गर्ने जेहेन्दार बालबालिकाहरुलाई कापी कलम वितरण गरेको हो ।

तीजको अवसरमा तडकभड्क गरी संस्कृतिको बदनाम गराउने गरि तीज मनाइरहेको अवस्थामा मञ्चमा आवद्ध महिलाहरुले व्यक्तिगत रकम संकलन गरी आर्थिक अवस्था कम्जोर भएका जेहेन्दार बालबालिकाहरुका लागि केही सहयोग होस् भनेर कापी कलम दिइएको कोषाध्यक्ष गायत्री गिरीले बताइन ।

कार्यक्रममा चन्द्रागिरी नगरपालिकाकी महिला विकास अधिकृत तथा सामाजिक विकास शाखा एवम् सूचना अधिकृत रश्मि श्रेष्ठले महिलाहरुबाट रकम जम्मा गरी सामाजिक शैक्षिक कार्यमा सहयोगको सुरुवात गर्नु महान कार्य भएको भन्दै आयोजकलाई धन्यवाद दिइन । अधिृकत श्रेष्ठले चार्डपर्वलाई महँगो बनाएर फजुर खर्च गर्नुभन्दा अन्य समुदाय तथा व्यक्तिहरुले समेत यसरी नै सामाजिक क्षेत्रमा योगदान गर्नुुपर्ने बताएकी हुन ।

सानो सहयोगले आर्थिक अभावमा परेका परिवारलाई केहीहदसम्म भएपनि राहात मिल्ने भन्दै शैक्षिक कार्यमा सबैले सहकार्य र सहयोग गर्नु सबैको दायित्व भएको बताइन । उनले नगरपालिकाबाट समेत सामाजिक विकासका लागि महिला र बालबालिकाको हक हितका लागि विभिन्न योजनाहरु सञ्चालनमा ल्याइएको जानकारी गराएकी छन् ।

कार्यक्रममा समाजसेवी कानून व्यवसायी तथा समाजसेवी शशी गिरी, गोमादेवि परियार, कानून व्यवसायी तथा समाजसेवी शशी गिरी, श्रीकृष्ण माविका शिक्षक, विद्यार्थी तथा अभिभावकहरुको सहभागिता रहेको हो । विपन्न परिवारका बालबालिकालाई कपी कलम प्राप्त भएकाले आगामी दिनहरुमा समेत अध्ययनलाई सहज बनाउनुका साथै अभिभावक र विद्यार्थीमा शिक्षण प्रति थप उत्प्रेरणा प्रदान हुने मञ्चकी सदस्य तथा शिक्षिका सम्झना रायमाझीले बताएकी छन् ।

मञ्चकी अध्यक्ष गीता कुमारी घिमिरे पौड्यालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सहसचिव सृष्टि केसीले गरेकी हुन । मञ्चमा सिता आचार्य, इश्वरी गिरी, विना गिरी महर्जन, रमा कोइराला, देवकी भट्ट र गिता केसी गरी पूर्वको झापा देखि पश्चिमको कञ्चनपुरसम्मका महिलाहरु आवद्ध छन् । २०७६ सालमा स्थापना भएको महिला उत्प्रेरण विकास मञ्चले सामाजिक क्षेत्रमा सहयोग गर्ने मुख्य लक्षयका साथ अगाडी बढ्ने बताएको छ ।