मैले जनताबीच जे बोलेको थिएँ ती सबै पुरा गरेको छु : नेता प्रभु साह


मधेसमा आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक तथा विकास प्रेमीनेताको रुपमा पहिचान बनाएका नेता हुन प्रभु साह । लामो समय माओवादीको राजनीति गरेका साह पार्टी विभाजनपछि एमाले कित्तामा थिए ।अहिलेको प्रतिनिधिसभा चुनावमा एमालेको टिकट छाडेर प्रभु साहले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
आफ्नो जीवनको अमुल्य समय माओवादीमै विताएका नेता साहले मधेशको विभेद तोड्न समाजबाटै विद्रोह गरी परिवर्तनको पक्षधर माओवादीमा गोलवद्ध भए । मधेशमा सदियौदेखि राजनीति गर्ने नेता र तीनका दलले मधेशमा नागरिकलाई केवल भोट बैंकका रुपमा मात्र उपयोग गरेर ।

निर्वाचनका समयमा नागरिकसंग जे जस्ता प्रतिवद्धता गरेपनि कहिल्यौ पुरा गरेन्न । तर नेता साहमा रौतहटका साथै मधेशमा माओावादी पार्टीलाई बचाई राखे अनि कम्युनिष्ट विचारधारालाई जीवन्त बनाई राखे । अर्को तिर उनले सर्दैव जनताको साथ र सहयोगमै चमत्कारी विकास समेत गरेर ।

पछिल्ला दुई वर्षदेखि एमालेसंग सहकार्य गरेका नेता पुर्व मन्त्री समेत रहेको युवा नेता प्रभ साहले निर्वाचनको पूर्वसन्ध्यामा उपेन्द्र यादवको पार्टी जनता समाजवादीसंग एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावी तालमेल गर्ने सहमति गरेपछि उनी लगायत मधेशमा परिवर्तन चाहने युवा पक्तिहरुले एकाएक स्वतन्त्र उम्मेदवारी दिए । रौतहट–३ बाट प्रतिनिधिसभाको उम्मेदवार रहेका उनको चुनाव चिन्ह ‘चापाकल’ रहेको छ । प्रस्तुत छ, साहसंग उनकै निर्वाचन क्षेत्र रौतहट ३ मा पुगेर गरेको समसामयिक विषयको कुराकानीको सम्पादित अंशः

निर्वाचनको मुखमा एमाले छाडेर स्वतन्त्र हुनु भयो, कत्ति कठिन छ यसपालिको निर्वाचन ?

मैले अनैतिक राजनीतिक छाडेँ, कुर्सीका लागि जे पनि गर्ने राजनीति छाडेँ । गठबन्धनको राजनीति छाडेँ र स्वतन्त्र भएर आम जनताको स्वतन्त्र आवाजको लागि म सङ्घर्षमा छु मलाई यसमा गौरव पनि छ खुसी पनि छ । यो निर्वाचन मलाई कठिन छैन ।

एमालेभित्र बसेर राजनीति गर्नु भयो । एमाले अनैतिक पार्टी रहेछ भन्ने कसबेला लाग्यो नि ?

हो, मलाई के लाग्छ भने एमालेको नेताले कुनै बेला मधेसमा भइरहेको आन्दोलन र नाकाबन्दीलाई भारतको नाकाबन्दी भन्दै देशलाई गुमराहमा राखेको रहेछ । यदि त्यो सही थियो भने उपेन्द्र यादव नाकाबन्दीको मतियार कसरी सही भए ? यदि नाकाबन्दी इन्डियाको थियो भने त्यसको मतियारलाई एमालेले कसरी स्वीकार्‍यो ?

दोस्रो, मधेसमा आगो बाल्ने साम्प्रदायिकताको राजनीति गर्ने मधेसलाई भ्रष्टाचारको बदनाम थलो बनाउने पार्टीलाई सुशासन र ‘सुखी नेपाली समृद्ध नेपाल’ भन्ने पार्टीले कसरी स्वीकार गर्‍यो भन्ने प्रश्न आउँछ ।

अर्को, मार्क्सवादले राजवादीलाई कसरी स्वीकार्‍यो ? गठबन्धन नै गर्दैनौँ भन्दै आएको अहिले ७–८ वटा दलसँग गठबन्धन गरेको हामीले हेरेका छौँ । यसरी कुर्सीका लागि जे पनि गर्ने केपी ओलीको जुन अनैतिक कर्म देखेँ, त्यो अनैतिक कर्मको साक्षी बन्नुभन्दा जनताको सिपाही भएर हिँड्नु राम्रो हुन्छ भनेर पार्टी र टिकट छाडेर स्वतन्त्र भएँ ।

रौतहटमा जसपा पनि बलियो मानिन्छ, त्यसमा एमालेको पनि साथ छ । तपाईंलाई यसपालि चुनौती त अलि बढी नै होला नि ?

हैन, आखिर भोट दिने जनताले नै हो । जति गठबन्धन गरे पनि भोटर भनेका आम जनता हुन् । आम जनताले मलाई चिनिसकेपछि, मलाई साथ दिने भएपछि गठबन्धन भनेर केही हुन्छ जस्तो मलाई लाग्दैन । चुनावको नतिजा आएपछि जनताको ताकत के रहेछ वा ठुला पार्टीको गठबन्धनको तागत के रहेछ भन्ने परीक्षण हुन्छ । त्यसैले, मलाई के विश्वास छ भने आम जनताको तागत यो गठबन्धन र केही पार्टी भन्दा ठुलो हुन्छ । जनताले आफ्नो तागत देखाउँछन्, त्यसमा म आशावादी छु ।

तपाईंले ५ वर्षअघि हँसिया हथौडा चिन्हमा मत भन्नु भो, स्थानीय चुनावमा सूर्य चिन्हमा, फेरि अहिले चापाकल चिन्ह । यसरी त मतदाता अलमलमा पर्दैनन् र ?

हो, रूपमा हेर्दा दल बदलेको जस्तो देखिन्छ तर, सारमा प्रभु साह हिजो जुन विचार, निष्ठा र वर्गसँग थियो, आज पनि त्यही निष्ठामा छ । बरु, पार्टीहरूमा परिवर्तन आएको छ । अहिले काँग्रेसको एउटा र केपी ओली नेतृत्वको अर्को गठबन्धन छ । एकतातिर जय नेपाल र लालसलाम छ अर्कोतिर जयमधेस र लालसलाम छ । प्रभु साह त लालसलाममै छ ।

कहिलेकाँही मान्छेले भन्छन् कि, सूर्यले पृथ्वीको परिक्रममा गरिरहेको छ, तर वास्तविकता त यही थियो नि, सूर्यको परिक्रमा त पृथ्वीले गरिरहेको हुन्छ । त्यसैले अहिले दल प्रभु साहले बदलेको जस्तो देखिएको छ, त्यो भ्रम हो । अहिले ओली जी छाताको पछाडि हिँड्नु भा छ । मधेसको जिम्मा छातालाई लगाउनु भो । जसलाई राष्ट्रविरोधी भन्नुहुन्थ्यो, उसैलाई मधेसको जिम्मा लगाउनुभो । यथार्थ यही हो ।

मैले समयमै स्वाभिमानको राजनीति बचाएँ । निष्ठा र राष्ट्रियताको राजनीति बचाएँ । म ओरिजिनल कम्युनिस्ट हुँ तर डुप्लिकेट र अरूको पुच्छर बन्नेहरूले मलाई नै दलबदलु भन्न सक्छन् । किनकि रूपमा त्यही देखिन्छ । तर, सारमा प्रभु साह हिजो जे थियो, आज त्यही छ, भोलि पनि त्यही रहनेछ ।

आवधिक निर्वाचनपिच्छे तपाईंले जहाँ भन्नुहुन्छ, त्यही मत हाल्ने जनताप्रति तपाईं कत्तिको विश्वस्त हो ?

हामी जनताको लागि जनताद्वारा जनताले गर्ने शासनलाई लोकतन्त्र भन्छौँ । त्यसैले मत देऊ सकियो भन्ने होइन । जबकि अहिले त्यस्तै देखिएको छ । त्यसैले जनताले दीर्घकालीन रूपमा देशलाई कता लैजाने भन्ने विचार गरेर नै गर्छन् । मलाई के विश्वास छ भने हरेक निर्वाचनले देशलाई एउटा छलाङ दिएको छ । अहिलेको निर्वाचनले पनि मुलुकलाई एउटा दिशा दिन्छ । र, समाजलाई ठुलो राहतको आधार खडा गर्नेछ भन्ने मलाई विश्वास छ ।

एमाले र जसपा बीचको तालमेल मधेस प्रदेशमा कस्तो देखिन्छ ?

म यो एक क्षेत्रमा मात्र चुनाव लडिरहेको छैन । सांसद मात्रै हुनका लागि मैले गठबन्धन वा ठुलो पार्टी रोज्नुपर्ने थियो । म राजनीतिक मुद्दामा चुनाव लडिरहेको छु । मधेस प्रदेशभरी जहाँ जसपा र एमालेको गठबन्धन भएको छ, ती सबैजसो ठाउँमा हाम्रो उम्मेदवारी छ । अन्य ठाउँहरूमा पनि स्वतन्त्र अभियान जिताउने अभियान मैले चलाएको छु ।

किनकि लोकतन्त्र भनेको दलीय सिन्डिकेट जस्तो भएको छ, दलीय निरङ्कुशता देखा परेको छ, जनता निरीह र लाचार भएका छन् । त्यसैले लोकतन्त्र बचाउन र जनतालाई साँच्चिकै शासक बनाउन कसैले पहल लिनुपर्ने थियो । त्यो मैले ऐतिहासिक सुरुवात गरेको छु । अहिले त्यसको पनि चुनाव हुँदैछ । मैले के आशा गरेको छु भने, अरू दलभन्दा धेरै नै स्वतन्त्र उम्मेदवारले जित्नेछन् ।

स्वतन्त्र उम्मेदवार भनेको त व्यक्तिगत कुरा भयो नि । पार्टीसँग व्यक्ति लड्न कसरी सम्भव हुन्छ ?

मान्छेले के बुझेका छन् भने हिजो राजासँग लड्न दल क्रान्तिकारी देखिएको थियो । दललाई धेरै साथ थियो, किनकि यो लौरोजस्तो सहारा थियो । लडाई लड्ने नेतृत्व थियो । तर, जब राजा हटे, दलहरू शासकको ठाउँमा आए । तिनको भूमिकाले जनता सन्तुष्ट देखिएका छैनन् । जनता उकुसमुकुस छन्, लाचार छन्, आक्रोशित छन् । यसले निकास खोजेको मैले बुझेको छु ।

त्यसैले आम जनताको लडाइँ हो, यो स्वतन्त्र उम्मेदवारी । आम जनताको आक्रोशको अभिव्यक्ति हो स्वतन्त्रलाई मतदान । यसको परिणामले दलका नेतृत्वले बुद्धि पुर्‍याएर सुध्रिएमा व्यवस्था अझ अघि बढ्छ, नभए मैले यो व्यवस्थाकै सङ्कट देखेको छु ।

मधेसमा भुइँमान्छेको समस्या धेरै छ, जसले तपाईंलाई पटक पटक जिताए, उनीहरूको बारेमा के सोच्दै हुनुहुन्छ ?

मैले पाँच वर्षको लागि चुनाव जितेको थिएँ । ३ वर्ष मात्र सांसदको रूपमा काम गरेँ । मैले जे बोलेको थिएँ, पुरा गरेको छु । सरकारले सुनेन, तराईमा दाउराको समस्या छ । ग्याँस चुल्हो सिलिन्डर हरेक घरमा दिने कार्यक्रम ल्याएको थिएँ, केपी ओलीको सरकारलाई त्यसबारे भनेँ तर, सुनुवाइ भएन ।

मैले व्यक्तिगत रूपमा २८ हजार घरधुरीलाई ग्याँस चुल्हो दिएको छु । कोही नेता छ, निजी प्रयासबाट यत्ति ठुलो सङ्ख्यामा ग्याँस चुल्हो बाँड्ने रु साइकल तराईमा किशोरीहरूलाई आवश्यक छ भनेर छात्रालाई साइकल भन्ने कार्यक्रम ल्याएको थिएँ । १२ स्कुलका छात्रालाई मैले वितरण गरेँ, पछि प्रदेश सरकारले बाँड्न थालेपछि मैले छाडेँ ।

झन्डै ३ सय किलोमिटर नयाँ सडक मेरो पहलमा बनेको छ । मौलापुर नगरपालिकास्थित मेरो वडामा ३२ करोडको नाला ढलान र पिचको काम भइरहेको छ । अरू दुई वडामा २० करोड र १२ करोडको ठेक्का लागेर काम सम्पन्न भएको छ । अरू धेरै कामहरू अघि बढिरहेका छन् । ५ वर्षमा अर्बौँको काम अघि बढेको छ मेरो क्षेत्रमा । सबै जिल्लाभर नयाँ बदलाव आएको छ । एउटा जोगीले यज्ञ लगाउन सक्छ भने नेताले चाहेमा असम्भव हुने काम सम्भव बनाउन सक्छन् भन्ने हामी उदाहरण हौँ ।

सडक बचाउ सडक बढाउ अभियान, बस्ती विकासको लागि ल्याण्ड पुलिङको अभियान अघि बढायौँ । यी जुन नयाँ मोडल छ, अन्यत्र पनि अनुसरण गर्दा राम्रो हुन्छ । हामीले छठ र होलीलाई नयाँ रूप दियौँ, अहिले छठ देशभर मनाइन्छ । आम जनताले यो सबै हेरेका छन् । त्यसैले, जनताले प्रभु साहलाई नै जनादेश दिन्छन् ।

अहिले प्रभु साह एक्लै लडेको देखिए पनि विभिन्न पार्टीका नेता, कार्यकर्ताले पनि सहयोग गरिरहेका र निर्वाचित जनप्रतिनिधिहरूले नै तपाईको पक्षमा छन् भन्ने सुनिन्छ । खास कुरा के हो ?

हो, धेरै निर्वाचित मेयर उपमेयर हामीसँगै छन् । रौतहट जिल्ला समन्वय समिति नै प्रभु साहको पक्षमा छ । अरू दलका पनि मानिसहरुले पनि मेरो पक्षमा सघाएका छन् । यहाँ नयाँ ध्रुवीकरण भइरहेको छ, मलाई के विश्वास छ भने आम जनताको जित हुन्छ । सत्ता गठबन्धनले त बेइमानी गरिरहेको छ, इमानदारीपूर्वक सहयोग गरिरहेको छैन । लोसपाले इमानदार ढंगले साथ दिएको छ । तर, माओवादीका केही व्यक्तिहरू, काँग्रेस र कलम छाप आफ्नै प्रचारमा लागिरहेका छन् ।

जितमा कत्तिको निश्चिन्त हुनुहुन्छ ?

मैले त्याग गरेको छु, वीरता प्रदर्शन गरेको छु । जहिले पनि त्यागको जित हुन्छ । कायरताभन्दा वीरताको जित भएको छ । मैले विकास, नैतिकता र निष्ठाको लागि लडिरहेको छु । म जित्छु । रौतहट–३ मा मेरो जित सुनिश्चित छ । (रोहित दाहाल,रातोपाटी अनलाइनबाट)