नवलपरासीका जनताले धान बेच्छन् तर भोट बेच्दैन्न् : हृदयेश त्रिपाठी


प्रतिनिधिसभाको निर्वाचन नजिकिएसँगै उम्मेदवारहरु चुनावी प्रचारमा व्यस्त छन् । नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट लगातार पाँचपटकसम्म संसद बनेका हृदयेश त्रिपाठीसँग यसपटक अर्बपति विनोद चौधरी भिड्दै छन्। यसले उनलाई चुनौती थपिदिएको छ। गठबन्धनका तर्फबाट चौधरी निर्वाचन लड्दै छन् भने त्रिपाठीले एमालेसँग तालमेल गरी चुनाबी मैदानमा उत्रिएका छन्।

उनी आफ्नो कारणले आफ्नो क्षेत्रका जनताको शिर निहुरिन नदिने र कलंकको भारी बोक्ने काम नगर्ने प्रतिबद्धताको साथ चुनाबी मैदानमा उत्रिएका छन्। निर्वाचनसँग सम्बन्धित विषयमा केन्द्रित रहेर त्रिपाठीकै निर्वाचन क्षेत्र नवलपरासी क्षेत्र नम्बर १ बर्दघाट सुस्तामा घरदैलो कै त्रममा गरेको कुराकानीको सम्पादित अंशः

जनताको लागि तपाईको एजेन्डा के छ  ?
देशमा कुनै पनि राजनीतिक दल सैद्धान्तिक राजनीति गरेको पाइदैन। निर्वाचनमा जे जति प्रतिबद्धता हुन्छ, त्यो एउटा फगत प्रतिबद्धता मात्रै हुन्छ। मेरो एउटै मात्रै प्रतिबद्धता सँधै रह्यो। मेरो कारणले मेरो क्षेत्रका जनताको शिर कहिले पनि निहुरिन दिन्न र दिएको छैन। म यस्तो काम गर्ने छैन जसको कारणले कलंकको भारी बोक्न परोस।

पटक पटक जनताको कृपाले सांसद पनि भए, मन्त्री पनि भए। तर कसैले कलंक लगाउने एउटा पनि काम भेटेनन। कारण के भने म आर्थिक अनुशासनलाई असाध्यै मान्ने गरेको छु। कतिपय म सँग रिसाउछन् पनि। खरो छु। जे देख्छु त्यहि प्रष्ट बोल्दिन्छु। मेरो सहयोगीले अलिकति लचक हुनुस, मिठो बोल्नुस भन्छन्। तर सत्य मिठो बोलेर पनि नसकिने रहेछ।

अहिलेको निर्वाचन पनि देशको सबैभन्दा धेरै धनाढ्य ब्यक्ति र राजनीतिक कार्यकर्ताको बीचको लडाई हो। म सम्पुर्ण देशको राजनीतिक कार्यकर्ताको तर्फबाट यो लड्दैछु। जुन राजनीतिक कार्यकर्ता २०३६ सालको विद्यार्थी आन्दोलनदेखि पछि सबै आन्दोलनमा सहभागी भए। म प्रजातान्त्र, संघीयता, गणतन्त्र, लोकतन्त्र, समाबेशीताको लागि, जेलनेल अनसन सबै काममा सहभागी भए । राजनीतिक रुपले पहिचान दिलाउने काम गर्न सफल भयौ। यो देशको विविधता थारु आयोग, मद्येसी आयोग, मुस्लिम आयोग, महिला आयोग, जुन संविधानमा लिपिबद्ध भयो त्यो आफै भएको होइन। हामी जस्ताको संघर्षको कारण भएको हो।

म यसपटक चुनाव नलड्ने सोचेको थिए। विनोद चौधरी जी यस क्षेत्रमा आएपछि मलाई चुनौती भयो सधै लडिरहेको मान्छे चुनाव लडिन भने कि डरायो भन्छन कि त चौधरीले किन्यो भन्छन्।

दोस्रो, यस क्षेत्रमा विनोध चौधरी र ग्रुपको कुनै लगानी छैन। न त आर्थिक लगानी छ। उनी राजनीतिक ब्यक्ति नभएकोले त्यो लगानी पनि छैन। उहाँ जे ढँगले सोचेर आउनुभयो। यहाँका जनता सोझा छन्। पैसाको बलमा जितेर आउछु भनेर त्यसमा उनलाई चुनौती त दिनु पर्यो भन्ने कुरा मेरो मनमा आयो।

तपाईले पाँचपटक जितिसकेको मान्छे। अहिले विनोद चौधरी आँउदा तपाईलाई कसरी चुनौती भयोरु तपाईले यो निर्वाचन क्षेत्र आफ्नो सुनिश्चित गर्न नसकेको वा आफुलाई अलिकति कमजोर अनुभुति गरिराख्नु भएको छ कि कसरी महसुस गरिरहनु भएको छ ?

चुनाव लड्ने मनशाय थिएन। उनको आगमन पछि म यो चुनाव लड्न विवश भए। मैले कुनै पनि तयारी गरेको थिइन। मानसिक, आर्थिक सामाजिक जहाँसम्म चुनौतीको कुरा हो। उहाँ नवलपुरबाट साँसद दुई पटक भइसक्नु भयो। अहिले आएर भन्दै हुनुहुन्छ कि यो क्षेत्र विकास भएन विकसित बनाइदिउला भनेर ।

उनी साँसद भएको क्षेत्र स्वीटजरल्यान्ड सिंगापुर बनाउनु भयो भनेर उनलाई लाग्यो होला र यहाँ आइपुग्नु भयो। सिजी सिमेन्ट उद्योगको बाटो ३ वर्षदेखि बनेको छैन। त्यहाँका जनता आन्दोलन गर्छन। उनकै उद्योग अगाडि पनि निकासको लागि प्रत्येक महिना आन्दोलन हुन्छ।

उनी धनाढ्य व्यक्ति हुन हामी गर्ब गछौ। विश्वका धनाढ्य व्यक्तिको सूचीमा पनि उनको नाम आउछ। नेपाली धनाढ्य छ भनेर यो पनि गर्ब गर्ने विषय हो। करको मामलामा उनी २९ औ स्थानमा पर्नुहुन्छ। २८ वटा संस्था उनीभन्दा बढी कर तिर्ने रहेछन्। उनले के जादु गर्नु भएको छ। धनाढ्य चाँहि १ नम्बर, कर तिर्ने चाँहि २९ औ नम्बरमा हुनुहुन्छ। आर्थिक रुपले पनि पारदर्शिता र स्वच्छताको हिसाबले पनि उनी बदनाम ब्यक्ति नै हो।

अहिले उनी यहाँ आउनु भएको छ। सबैलाई देशभरीबाट निर्वाचन लड्न छुट छ। यहाँका जनताले उहाँको पुरै क्रियाकलाप देखेका छैनन्।

उनी उद्योगी हुन, व्यवसायी हुन, हामी सम्मान गछौ। राजनीतिमा हात हाल्न खोज्नु भनेको उनको आफ्नै भनाइले पार्टी यहाँ पाँच पटक हार्यो ।

धेरै घनाढ्य ब्यक्ति मसँग लड्न आइरहेका छन्। घेराबन्दीमा म छु।

तपाईको जित्ने आधार के हुन् ?

जनता।

सबै जनताले तपाईलाई भोट दिन्छन् भन्नेमा निश्चिन्त हुनुहुन्छ ?
म कलंंकित छैन। जनताको शिर निहुरिने कुनै काम गरेको छैन।

तपाई पाँचपटक सांसद हुँदा पनि यहाँको विकासको अवस्था हेर्ने हो भने पाँच पटक निर्वाचित भएको स्थितिको जस्तो परिवर्तन हामीले देखेनौ ?
पाँच वर्ष अगाडि आएको भए अझ डरलाग्दो देख्नु हुन्थ्यो। दश वर्ष अगाडि आएको भए झनै डरलाग्दो देख्नुहुन्थ्यो। १५ वर्ष अघि आएको भए विजुली नभएको देख्नुहुन्थ्यो, कलेज नभएको देख्नुहुन्थ्यो, स्कुल नभएको देख्नुहुन्थ्यो, अस्पताल नभएको देख्नुहुन्थ्यो। बाटो नभएको देख्नुहुन्थ्यो।

एउटा कुरा सुन्दरता, मित्रता र विकासको अन्त्य हुँदैन। जति सुन्दर भएपनि अझ सुन्दर हुन मन लाग्छ। मित्रता जति प्रगाढ भएपनि अझ प्रगाढ हुन मन लाग्छ। विकास पनि जति छ त्यो भन्दा थप गर्न मन लाग्छ।

अहिले हामी जुन पिच बाटो आयौँ, त्यो पाँच वर्ष अघि थिएन, अहिले जुन ग्राभेल बाटो हिड्यौ, त्यो पाँच वर्ष पछि आउदा रहदैन भन्न खोज्नुभएको हो ?
पाँच वर्ष पनि लाग्दैन त्यसको लागि।

मैले धेरै गरे भनेर दावा गर्दिन तर बिगार्ने काम मैले केहि गरेको छैन्।

जसको संसदमा भुमिका निकै न्युन थियो। जसको उपस्थिति न्युन थियो। जो संसदमा नै वर्षमा एक पटक बजेटको विषयमा मात्रै बोल्थ्यो। जसले आफ्ना कार्यकालमा नवलपुर कै विषयमा केहि बोलेन। पैसा कै भरमा समानुपातिक संसद बन्नु भएको थियो अहिले पनि पैसाकै बलमा चुनाव जित्छु भनेर आउनु भएको छ।

यहाँका जनताले धान, गहुँ, उखु, केरा बेच्छन तर भोट बेच्दैनन्।

दल परिवर्तनमा त्रिपाठिजी पनि अस्थिर छन् भन्ने आरोप लाग्छ। यसपटक पनि नयाँ चुनाव चिन्न लिएर आउदै हुनुहुन्छ। यसमा तपाई के भन्नुहुन्छ ?
म दल परिवर्तन गर्दिन, म दल निर्माण गर्छु। सदभावना पनि हामीले निर्माण गरेका थियौं। विभाजन भयो र समाप्त हुन थाल्यो। त्यसपछि तराई मद्येश लोकतान्त्रिक पार्टी हामीले निर्माण गरेको हो।

अहिले फेरि नयाँ पार्टी निर्माण गर्नुभएको छ। फेरि यो पनि पुरानै दुईटा जस्तै नयाँ निर्माण गर्नु पर्ने हो कि ?
बिग्रन सक्छ। राजनीति कसैले भन्न सक्दैन। भोलि देशमा प्रतिगमन भयो भने पार्टीको अवस्था के हुन्छ ? पार्टी भनेको त स्थिर हुनु पर्दैन  ? स्थिर कोहि पनि छैन। विचारमा स्थिर हुनुपर्छ। पार्टीको नाम स्थिर हुन हुँदैन।

जनताले हजुरको कतिवटा निर्वाचन चिन्न याद गर्ने हो भन्ने पनि कुरा आउछ नि ?
मलाई याद गर्ने हो। एक जना काँग्रेसका नेताले भन्दै थिए काँग्रेसको रुख पहिला पिपलको थियो अहिले विनोद चौधरी आएपछि त्यो सिमलको भएको छ। विनोद चौधरीले त्यो रुखको पवित्रता नै बदल दिनुभयो।

कार्यकर्तामा भावना हुन्छ तर भावना व्यक्तिसँग गएर ठोकिने रहेछ। यो मनोविज्ञानलाई पनि बुझ्नुपर्छ।

अहिले बैकल्पिक शक्तिको विषयमा नि चर्चा छ। पुराना भन्दा नयाँ पार्टी र युवाहरुले पनि स्थान बनाइरहेका छन्। यो स्थितिलाई कसरी हेर्नुभएको छ ?
पार्टीहरु विकल्प हुँदैनन्। विचार विकल्प हुन्छ। देशको अर्थतन्त्र कसरी लैजाने र त्यसमा बहस हुन्छ र त्यसमा विकल्प हुन्छ।

घाइते भएको संविधानलाई पुनः उपचार गरेर लिकमा ल्याउछौ कि ल्याउदैनौ भन्ने कुरामा विकल्प हुन्छ।

राजनीति लिकभन्दा बाहिर गइसकेको छ। यसलाई पुनः लिकमा फर्काउन सक्छौ कि सक्दैनौ त्यसमा विचार गर्नुपर्छ।

हरेक वर्तमानसँग असन्तुष्टि हुनु स्वभाविक हो, त्यो मानविय गुण हो र त्यो हुनु पनि पर्छ। यसलाई म अन्यथा लिँदिन। म साइकोलोजीको विद्यार्थी पनि हुँ। त्यसकारण म यो बुझ्छु।

सन्तुष्टि हुनु हुँदैन। जसरी विकाससँग सन्तुष्टि हुनुहुन्न। त्यस्तै हरेक बर्तामानसँग पनि सन्तुष्ट हुनुहुन्न नत्र प्रगति नै रोकिन्छ। तर कुन औजार प्रयोग गर्ने त्यो कुरा महत्वपुर्ण हुन्छ।

नेपालको अहिलेसम्मको बर्तमान संबैधानिक अवस्था पुर्याउनमा जसको भुमिका छ त्यसको तिरस्कार गर्ने र जसको योगदान नै छैन त्यसलाई एकदमै देवत्वकरण गर्ने रु त्यो मिल्ने कुरा हो र रु

मलाई थाहा छ यो आन्दोलनको विपरितमा उभिएका नेताहरु अहिले क्रान्तिकारी नेता भएर गइरहेका छन्। जसलाई यो परिवर्तन नै पचेको छैन।

अन्त्यमा, तपाईका मतदातालाई के भन्न चाहानुहुन्छ ?
मेरा क्षेत्रका मतदाता स्वाभिमानी छन्। स्वाभिमानको रक्षा गर्छन।

कोहि बाहिरिया व्यक्ति पाहुना बनेर त आउछन्। हामी स्वागत गर्छौं। हाम्रो संस्कार हो। तर पाउना त आफ्नो घर जाने हो, बसिरहदैन। त्यो काम मंसिर ४ गते जनताले गराउलान्।

मेरोलगानी, सुवास निरौला र युवराज बस्नेत