बौद्धिक अपाङ्गताका अभिभावक संघ गुल्मीको नयाँ नेतृत्व चयन


बौद्धिक अपाङ्गताका अभिभावक संघ गुल्मीको अध्यक्षमा राजकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । मङ्गलबार बौद्धिक अपाङ्ग पुनःस्थापना केन्द्रको सभाहल तम्घासमा भएको बौद्धिक अपाङ्गताका अभिभावक संघ जिल्ला कार्य समितिको छैठौं अधिवेशन तथा दशौं साधारण सभाबाट श्रेष्ठ अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

यस्तै, उपाध्यक्षमा डिलबहादुर थापा, सचिवमा तारा पौड्याल, सहसचिव सावित्रा भण्डारी, कोषाध्यक्ष अनुराम पाण्डे रहनुभएको छ । सदस्यहरुमा रुपा भण्डारी, पदमबहादुर जिसी, भीमबहादुर अधिकारी, छविलाल पाण्डे, भुमी मरासिनी, सरस्वती भण्डारी निर्वाचित हुनुभएको छ ।

सोही अवसरमा सल्लाहकार समिति समेत गठन गरिएको छ । जसको संयोजकमा ईश्वरीप्रसाद पौड्याल, सदस्यहरुमा रघुनाथ मरासिनी, उमानाथ पन्थी, मेघलाल पाण्डे, राममणि पन्थी, र कृष्णप्रसाद बेल्बासे रहनुभएको छ । यस संस्थामा अहिलेसम्म १०७ जना बौद्धिक अपाङ्गता आवद्ध रहेका छन् ।

त्यस अवसरमा रेसुंगा नगरपालिका उपप्रमुख अमृतादेवि कुँवरले अहिले बौद्धिक अपाङ्गता भवन समेत निर्माण भएकाले सडकको पहुँचका लागि नगरपालिकाले बिशेष सहयोग पुर्‍याउने बताउनुभएको थियो । उहाँले नगरपालिकाभित्र बन्ने भवनहरु अपाङ्गमैत्री बनाउनका लागि समेत निर्देशन दिएको बताउनुभयो । अपाङ्गता भएकाहरुलाई नगरपालिकाले घरघरमै समेत गएर अपाङ्गगता परिचय पत्र वितरण गर्ने गरेको समेत बताउनुभयो ।

त्यस्तै, रेसुंगा नगरपालिका–९ का वडाअध्यक्ष कृष्णप्रसाद पाण्डेय, नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल अर्याल, सुशासन अभियान गुल्मीका अध्यक्ष श्यामकुमार पाण्डेले बौद्धिक अपाङ्गता भएकाहरुको सहयोगका लागि सबै एकजुट भएर सहयोग गर्नुपर्ने बताउनुभयो । ईश्वरीप्रसाद पौड्यालको अध्यक्षता रहेको साधारण सभाको सञ्चालन मेघलाल पाण्डेयले गर्नुभएको थियो ।