जुम्लाको पाटनमा चट्याङ लागेर ५० भेडाबाख्रा मरे


जुम्लाको पातारासी गाउँपालिका–२ स्थित दुगाडा पाटनमा चट्याङ लागेर ५० भेडाबाख्रा मरेका छन् । यही असार २८ गते दिउँसो २ बजेतिर परेको चट्याङले ती भेडाबाख्रा मरेका हुन् भने ७० वटा भेडाबाख्रा हराएको पातारासी गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिए ।

चट्याङले ४२ बाख्रा र आठ भेडा मरेको पातारासी गाउँपालिका भेटेरीनरी शाखाका प्रमुख गगन केसीले बताए । सो गाउँपालिकाका स्थानीयवासी कृष्ण ऐडी, र मिमबहादुर बोहोराका भेडाबाख्रा चट्याङबाट मरेका हुन् ।

पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका अनुसार जिल्लाकै सबैभन्दा बढी भेडापालन हुने ठाउँ पातारासी हो । पाटन र खर्कमा व्यवस्थित भेडीगोठ नहुँदा हरेक वर्ष चट्याङबाट भेडाबाख्रामा ठूलो क्षति गर्ने गरेको कार्यालयले जनाएको छ । ठूलो संख्यामा भेडाबाख्रा चट्याङबाट मरेपछि किसान चिन्तित भएका छन् ।

स्थानीय सरकारले राहतको लागि माथिल्लो सरकारी निकायमा पहल गरिदिन अनुरोध गरेको भेडापालक किसान ऐडीले बताए । । उनले भने ‘चट्याङबाट भेडा मरेको जानकारी गराएका छौँ । राहत र क्षतिपूर्तिका लागि सम्बन्धित निकायलाई सहयोगको अपिलसमेत गरेका छौँ ।’ स्थानीय सरकारबाट हुने सहयोग गरिने पातारासी गाउँपालिकाका उपाध्यक्ष जनमाया रोकायाले जानकारी दिए । रासस