एक निर्वाचन क्षेत्रमा एक प्राङ्गारिक मल कारखाना बनाउछौं : मन्त्री श्रेष्ठ


बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठले प्राङ्गारिक मल बनाउन कारखाना खोल्ने योजना रहेको बताउनुभएको छ ।

शनिवार सिन्धुलीमा आयोजित सरसफाई कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले स्थानिय तहहरुको समन्वयमा प्रदेश सरकारले एक निर्वाचन क्षेत्रमा एक प्राङ्गारिक मल कारखाना बनाउने बताउनुभएको हो । ‘रासायिनक मलले वातावरण विग्रने, उत्पादन नहुने र भोकमरी कै अवस्था हुने खतरा बढ्दै गएको छ ।

यसर्थ रासायनिक मलको प्रयोग घटाउदै प्राङ्गारिक मलको प्रयोग बढाउनुपर्ने छ । स्थानिय तहहरुसँग समन्वय गरेर आर्थिक बर्ष २०८०/०८१ मै प्राङ्गारिक मल कारखाना बनाउने छौं ’ मन्त्री श्रेष्ठले भन्नुभयो ।

मन्त्री श्रेष्ठले वातावरण संरक्षणको लागि प्रत्येक नागरिक सचेत भई आफ्नो घर, टोलको सरसफाईमा ध्यान दिनुपर्नुेमा जोड दिनुभयो । मन्त्री श्रेष्ठले विपी राजमार्गको सुन्दरता जोगाई राख्न राजमार्गमा यात्रा गर्ने यात्रुहरुले प्रयोग गर्ने प्लाष्टिकजन्य फोहोर व्यवस्थापनमा कडाई गर्नुपर्ने बताउनुभयो ।

‘विपी राजमार्गमा बेलाबेलामा सरसफाई गरेर मात्रै हुदैन । राजमार्ग सफा राख्न राजमार्गमा गुड्ने गाडी र यात्रुलाई सचेत गराउनु पर्छ । फोहोर गाडीमै संकलन गरेर निश्चित ठाउँमा विसर्जन गर्ने कार्यलाई कडाईका साथ लागु गर्नुपर्छ’मन्त्री श्रेष्ठले भन्नुभयो । कमलामाई नगरपालिकाका मेयर उपेन्द्र कुमार पोखरेलले सफा र स्वच्छ नगर बनाउन सबै नगरबासी नागरिक सचेत हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले आफ्नो घर,टोल आफैले सफा गर्ने बानीको विकास गर्नुपर्ने बताउनुभयो । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत कालिमाई मन्दिर परिसर देखि सिलामे सम्म सडक सरसफाई गरिएको छ ।

आन्तरिक मामिला तथा कानुनमन्त्री श्रेष्ठ, नगरप्रमुख पोखरेल, प्रहरी प्रमुख राजकुमार सिलवाल सहित सशस्त्र प्रहरी, डिभिजन वन कार्यालयका कर्मचारी, राजनितिज्ञ, स्थानिय नागरिक, पत्रकार लगाएतको उपस्थितिमा सडक सरसफाई गरिएको हो ।