पूर्वी युक्रेनको व्यस्त बजारमा ‘रुसी क्षेप्यास्त्र आक्रमण’, १७ जनाको मृत्यु


युक्रेनको 'शान्त सहर' भनी चिनिएको कस्टाएन्टिनभ्काको एक व्यस्त बजार क्षेत्रमा भएको आक्रमण
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले टेलिग्राममा शेअर गरेको भिडिओमा विस्फोटनको दृश्य देखिन्छ

युक्रेनमा ‘शान्त सहर’ भनिने गरिएको कोस्ट्यान्टिनीभ्कामा बुधवार दिउँसो भएको क्षेप्यास्त्र आक्रमणमा परी एक बालकसहित १७ जनाको मृत्यु भएको छ।

उक्त सहरस्थित एउटा व्यस्त बजारमा भएको उक्त आक्रमणलाई युक्रेनमा असामान्य मानिएको छ।

राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त घटनालाई “नियोजित आक्रमण” भन्दै त्यसको निन्दा गरेका छन्। उनले उक्त आक्रमण रुसले गराएको आरोप लगाएका छन्। तर रुसले अहिलेसम्म कुनै टिप्पणी गरेको छैन।

सामाजिक सञ्जालमा प्रकाशित भिडिओहरूमा मानिसहरूले किनमेल गरिरहेको बजार क्षेत्रको सडकको पल्लो छेउमा विस्फोट भई गाढा सुन्तला रङ्गको धुवाँ उडेको देखिन्छ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले मस्कोमाथि दोषारोपण गर्दै “मारिएका मानिसहरू निर्दोष भएको” बताएका छन्। उनका अनुसार मृतकको सङ्ख्या अझ बढ्न सक्छ।

 

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन युक्रेन भ्रमणमा रहेका बेला नै आक्रमण भएको हो।

विगत डेढ वर्षमा चौथो पटक युक्रेन पुगेका ब्लिङ्कनले राष्ट्रपति जेलेन्स्की र अन्य युक्रेनी अधिकारीहरूलाई भेटेपछि एक अर्ब अमेरिकी डलरभन्दा बढीको सहयोग घोषणा गरेका छन्।

कोस्ट्यान्टिनीभ्का सहर युक्रेनको पूर्वी डोनेट्स्क क्षेत्रमा पर्छ। त्यो सहर युद्धमोर्चाबाट नजिकै छ।

 

बीभत्स

अहिलेको घटनामा कम्तीमा ३३ जना घाइते भएको बताइएको छ। विस्फोटनपछि लागेको आगो नियन्त्रणमा आइसकेको छ तर बजार, औषधि पसल र अन्य पसलहरूमा क्षति पुगेको छ।

इन्टर्नेटमा शेअर गरिएका भिडिओ र तस्बिरहरूमा विस्फोटन र त्यसपछिको बीभत्स दृश्य देखिन्छ।

गत वसन्तयामपछि युक्रेनी सर्वसाधारणहरूमाथि भएको यो सबैभन्दा ठूलो आक्रमण हो। धेरै मानिसहरू बजार र क्याफेतिर निस्किने समय अर्थात् दिउँसो २ बजेतिर भएको थियो।

 

घटनाको केही घण्टामा खोज तथा उद्धार अभियान पूरा भएको युक्रेनका आन्तरिक मामिलामन्त्री इहोर क्लिमेन्कोले बताएका छन्।

उक्त घटना सम्झिँदै एक स्थानीय व्यापारी डायना खोडाकले “उज्यालोको झिल्का” देखेपछि आफूले सहकर्मी र ग्राहकहरूलाई भुइँमा पल्टिन लगाएको बताइन्।

रुसी आक्रमण भएको बजारमा युक्रेनी सुरक्षाकर्मीहरू

रोएटर्स समाचारसंस्थासँग कुरा गर्दै उनले त्यसपछि आफूले सुरक्षाकर्मीहरूले “खुट्टाबाट हड्डी निस्किएकी एक महिला”लाई बोकेर लाँदै गरेको देखेको बताइन्।

कोस्ट्यान्टिनीभ्का सहरमा गत एप्रिल, मे र जुन महिनामा पनि आक्रमणहरू भएका थिए।

ती आक्रमणमा परेर केही मानिसको मृत्यु भएको थियो।

सन् २०१४ देखि यो सहर रुसी प्रतिनिधिहरूको नियन्त्रणमा छ। युद्ध सुरु भएपछि रुसी पक्षले युक्रेनी सुरक्षाबलले त्यहाँ आक्रमण गर्ने गरेको आरोप लगाउने गरेका छन्।

अहिले आक्रमण भएको स्थान बख्मुटबाट २७ किलोमिटर टाढा छ।

क्षेप्यास्त्र आक्रमणपछि व्यस्त बजारमा आगो लागेको थियो

‘युद्ध अपराध’

राष्ट्रपति जेलेन्स्कीले आक्रमणलाई “चरम अमानवीयता” भनेका छन् भने उनकी पत्नी ओलेना जेलेन्स्काले यस घटनामा “भयानक क्रूरता” देखिएको बताएकी छन्।

युक्रेनका प्रमुख अभियोजकको कार्यालयले “कानुन तथा युद्धका मान्यताको उल्लङ्घनका लागि आपराधिक शृङ्खला”को प्रयासमा यस घटना भएको भन्दै छानबिन सुरु भएको जनाएको छ।

“अभियोजकहरू रुसी महासङ्घद्वारा भएका सबै युद्ध अपराधको अभिलेख राख्नका लागि सबै सम्भाव्य तथा उपयुक्त उपायहरू अपनाउँदै छन्,” एक विज्ञप्तिमा भनिएको छ।

रुसी अधिकारीहरूले यस घटनाबारे केही बताएका छैनन्। यसअघि उनीहरूले युद्धका क्रममा नागरिकहरूलाई आक्रमण गर्ने घटनामा आफ्नो संलग्नता अस्वीकार गरेका थिए।

तस्बिर स्रोत,EPA-EFE/REX/SHUTTERSTOCK/BBC Nepali