चीनलाई एसियाडको पहिलो स्वर्ण


१९औं एसियाली खेलकुद (एसियाड) को पहिलो स्वर्णपदक चीनले जितेको छ । चीनले एसियाडको दोस्रो दिन आइतबार रोइङ खेलबाट पहिलो स्वर्ण चुमेको हो ।

चीनका लागि रोइङमा जु जियाकी र किउ सिउपिङले लाइटवेट महिला डबल्स स्कल्सतर्फ स्वर्ण जित्नुभएको हो । जियाकी र सिउपिङले सात मिनेट ६.७८ सेकेन्डको समय निकाल्दै स्वर्ण चुमेको थियो ।

उज्वेकिस्तानका लुइजाखोन इस्लोमोभा र मालिका ताग्माटोभाले रजत जित्नुभयो । उज्वेकिस्तानका खेलाडी १० सेकेन्डले पछि पर्नुभएको थियो ।

यस स्पर्धामा इन्डोनेसियाले कांस्यमा चित्त बुझायो । चीनले आइतबार नै स्वर्ण सङ्ख्या १० बनाएको छ । चीनले रोइङबाट ६ स्वर्ण, पेन्टाथलन, उसु र सुटिङबाट एक एक स्वर्ण जितेको छ ।

भारतले दुई रजत र एक कांस्य जित्दै एसिायडमा पदकको सुरुवात गरेको छ । भारतले रोइङको मेन्स लाइट डबल्स र मेन्स एट तथा सुटिङतर्फ १० मिटर एयर राइफलमा रजत जितेको हो।

सुटिङमा नेपालको कमजोर प्रदर्शन

यसैगरी नेपालले एसियाड सुटिङको पहिलो खेलमा खराव प्रदर्शन गरेको छ । सुटिङको १० मिटर महिला एयर राइपलमा श्लेसा भण्डारी र सुस्मिता नेपाल ४७औं र ५८औं स्थानमा रहनुभयो । सुटिङको यस स्पर्धामा ५९ खेलाडी सहभागी थिए ।

नेपालले आइतबार बिहान सहभागिता जनाएको इस्पोर्ट्अन्तर्गत इ-फुटबलमा मकाउसँग हार खेपेको छ । नेपालका समीर गुरुङ मकाउका खेलाडीसँग २-१ ले पराजित हुनुभयो ।

तेक्वान्दो, जुडो र टेबल टेनिसमा निराशा

नेपालकी तेक्वान्दो खेलाडी स्वस्तिका तामाङ महिला पुम्सेको अन्तिम १६ को खेलमा सिङ्गापुरकी खेलाडीसँग पराजित हुनुभएको छ । पुरुषतर्फ प्रेमबहादुर लिम्बू फिलिपिन्सका खेलाडीसँग क्वार्टरफाइनलमा पराजित हुनुभयो ।

उहाँले प्रिक्वार्टरफाइनलमा पाकिस्तानका खेलाडीलाई हराउनुभएको थियो । यस्तै जुडोमा नेपालकी खेलाडी देवकी श्रेष्ठ मङ्गोलियाकी खेलाडी र इन्द्र श्रेष्ठ हङकङका खेलाडीसँग पराजित हुनुभएको छ ।

यस्तै पहिलो दिन टेबलटेनिसमा पनि नेपालको प्रदर्शन सन्तोषजनक रहेन । नेपाल टेबल टेनिसको टिम स्पर्धामा समूह चरणबाट बाहिरिएको छ।

टिम स्पर्धामा नेपालको महिला र पुरुष दुवै टोली बाहिरिएको हो । समूह एफमा रहेको नेपालको महिला टोली भारतसित ३–० र पुरुष टोली उत्तर कोरियासँग समान ३–० ले पराजित भयो ।