पाल्पा दुर्घटनामा एकै परिवारका छ जनाको निधन


पाल्पाको रानीमहल नजिकै आइतबार बेलुकी भएको दुर्घटनामा मृत्यु हुने ६ जना एकै परिवारका रहेको खुलेको छ । दसैँमा रानीमहल घुमेर फर्कने क्रममा तानसेन–रानीमहल सडकखण्डको वैकुण्ठ भीरमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको थियो भने एक जना गम्भीर घाइते हुनुभएको थियो ।

दुर्घटनामा परेका सात जना पूर्वी नवलपरासी देवचुली नगरपालिका–१६ रजहरका स्थायी बासिन्दा रहेको प्रहरीले पुष्टि गरेको छ । दुर्घटनामा परी मृत्यु हुने ६ जना र एक जना गम्भीर घाइते लोहनी परिवारका सदस्यहरू रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले बताउनुभयो ।

उनीहरू एकै परिवारका श्रीमान्, श्रीमती, सम्धिनी, बुहारी र दुई नाति छन् । दुर्घटनामा ६५ वर्षका कृष्णबहादुर लोहनी, ५५ वर्षकी पार्वती लोहनी श्रीमान्, श्रीमती रहेको पुष्टि भएको छ । यस्तै कृष्णबहादुरका बुहारी र दुई नातिहरूको समेत दुर्घटनामा मृत्यु भएको छ । अढाइ वर्षका ईसव लोहनी र ११ वर्षका सबिस कृष्णबहादुरका नाति रहेको बताइएको छ ।

यस्तै मृतक बुहारी ३५ वर्षकी सबिना धिताल र बुहारीकी आमा ५५ वर्षकी चुनु धिताल रहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते चालक ३६ वर्षका ईश्वर कृष्णबहादुरका छोरा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उनीहरू दसैँमा घुम्न जाने भनेर शनिवार घरबाट हिँडेका थिए । दुर्घटना के कारणले भएको भन्ने अझै खुलेको छैन ।