सीमा स्तम्भको पुनर्निर्माण सुरु


नेपाल सशस्त्र प्रहरी बलले मधेसका जिल्लाहरूसँग जोडिएको भारतीय सिमानाकामा रहेका सीमा स्तम्भको पुनर्निर्माण, मर्मत सम्भार तथा रंगरोगनको काम सुरु गरेको छ ।

४ हजारभन्दा बढी सीमास्तम्भहरुको पुनः निर्माण, मर्मत सम्भार र रंगरोगनको काम सुरु गरिएको हो । धनुषाको सीमावर्ती पालिका नगरपालिका नगराइन नगरपालिकाको वडा नम्बर–२ जटही नाकामा सीमा स्तम्भको मर्मत गरेर सीमा स्तम्भ मर्मत तथा रंगरोन कार्यको शुभारम्भ गरिएको हो ।  मधेस प्रदेशका आठ वटै जिल्लाको भारतीय सिमानाकामा रहेको ४ हजारभन्दा बढी सीमास्तम्भहरुको पुनः निर्माण थालिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता वाहिनीका वाहिनी पति दीपेन्द्र शाहले जानकारी दिनुभयो । उहाँले पहिलो चरणमा १ हजार सीमा स्तम्भको मर्मत तथा रंगरोगन गरिने बताउनु भयो ।

२०७७ साल श्रावण १९ गतेको बसेको मन्त्रिपरिषद् बैठकबाट नेपालले सीमामा रहेका बेजोर नम्बर भएको सीमा स्तम्भको पुनः निर्माण, मर्मत सम्भार तथा रंगरोगनको काम नेपाल पक्षले गर्ने निर्णय गरेको थियो । त्यस्तै भारतीय पक्षले जोर नम्बर भएको सीमा स्तम्भको मर्मत तथा रंगरोगन गर्ने वाहिनी पति शाहले बताउनु भयो । सीमा सुरक्षाका लागि सीमा स्तम्भको मर्मत सम्भारले सीमा स्तम्भको मात्र नभई दुई देशकै सुरक्षा, सद्भाव र प्राविधिक जटिलतालाई समाधान गर्ने भारतको एसएसबी ४८ औं बटालियन जयनगरका डेपुटी कमाण्डेण्ट सन्तोष निमोरियाले बताउनु भयो ।

सीमावर्ती पालिकाका प्रमुखहरूले काम ठिक तरिकाबाट भइरहेको बताएका छन् । सीमा सम्बन्धमा कुनै पनि निर्णय गर्दा काठमाडौँ र दिल्लीका प्रतिनिधि दुवै देशको राजधानीमै बसेर कुनै ठोस निर्णय गर्न नहुने सुझाव दिएका छन् । उनीहरूले सुरक्षाकर्मीको काम ठिकै भए पनि नीतिगत कुराहरूमा सीमावर्ती जनताको सुझावको स्वामित्व समेत हुनुपर्ने बताउनु भयो ।

सो अवसरमा नगराई नगरपालिकाका प्रमुख विनयकुमार यादव, मुखिया पट्टी मुसहर निया गाउँपालिकाका अध्यक्ष जयकुमार यादव, सम्बन्धित वडा अध्यक्ष, सशस्त्र प्रहरी बल धनुषाका प्रहरी उपरीक्षक दिनेश मल्ल, दुवै तर्फका सीमा सुरक्षा बलका जिल्ला प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो । यसअघि कात्तिक १ गते सशस्त्र प्रहरी बल मधेस प्रदेश मुख्यालयले बर्दिबासमा मधेसका सीमावर्ती १ सय ४३ वडाका वडा अध्यक्षहरूसँग सीमा सुरक्षा, समस्या, चुनौती र समाधानबारे सुझाव लिएको थियो ।