गठबन्धन सरकारकै कारण प्रतिगामी सल्बलाए : एमाले अध्यक्ष ओली


प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार कमजोर हुँदा प्रतिगामी तत्त्वहरू सल्बलाउन थालेकाले सचेत हुन सबैमा आग्रह गर्नुभएको छ ।

मध्यपहाडी लोकमार्ग पदयात्राको दोस्रो दिन आज शुक्रबार डडेलधुरामा आयोजित सभामा उहाँले सो आग्रह गर्नुभएको हो । सो क्रममा उहाँले सरकारको कामप्रति गुनासो गर्नुभयो ।

“यो सरकार कसैले ढाल्नु पर्दैन । सरकार हल्लिराख्या छ । चर्‍याकमर्‍याक, चर्‍याकमर्‍याक भइराख्या छ । तर हामी पश्चिमबाट पूर्वसम्म तीन हप्ताको अभियानमा लागेका छौँ । यो सरकार आफै ढल्न पछि सक्छ” अध्यक्ष ओलीले थप्नुभयो, “यो त गठबन्धन नामक छेस्काले अडिएको छ । यसको न कुनै सिद्धान्त छ, न कुनै योजना नै । यसको देश बनाउने योजना पनि छैन ।”

नेपाली काँग्रेस प्रचण्डपथमा अहिले हिँडिरहेको उहाँले टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “आफ्नै मान्छेहरूलाई मुद्दा लागेको छ । थुनिएको छ । हो होइन, अदालतले भन्ला । तर माओवादीका मान्छेहरू, नेताहरू तस्करहरूसँग सम्बन्ध राख्दा समेत पक्राउ पर्दैनन् ।”

 

एमाले सरकारबाट हटाइएपछि त्यस यताको अढाइ वर्षमा देशको राजनीति अस्थिरता अन्यौल, अराजकताको क्रमबाट गुज्रिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार कमजोर हुँदा कतिपय प्रतिगामी शक्तिहरु टाउको उठाउन खोजिरहेका छन् । देशको कुभलो चाहनेहरु, नेपाली जनताको एकता देख्न नसक्नेहरु, देशमा शान्ति सुव्यवस्था भएको देख्न नचाहनेहरु नेपाली जनताका बिचमा वैमनष्यता, झैझगडा लगाउन खोजिरहेका छन् ।”

देशको अर्थतन्त्र ओरालो लागेकाले कर्मचारी, सेना प्रहरीलाई तलब खुवाउन सरकारले आन्तरिक ऋण उठाउनु परेको अवस्था रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “विकासको लहर एमालेको सरकार हुँदा जुन थियो, त्यो अहिले रोकिएको छ । ठप्प भएको छ ।”

उद्योग खोल्न नसकेर भएका उद्योग पनि बन्द हुँदैगएका छन् भन्दै उहाँले थप्नुभयो, “कृषि आधुनिकीकरणको काम हामीले जुन अघि लगेर गएका थियौं, त्यो ठप्प छ । प्रतिगामी तत्वहरु मरेको राजतन्त्र ल्याउँछु भनेर कुदेका छन् । नेपाली जनता सजक रहनुपर्छ ।” जनताको समस्या पहिचान गर्न र समस्या सम्बोधनका लागि एमालेले मध्यपहाडी लोकमार्ग अभियान सुरु गरेको उहाँले प्रष्ट पार्नुभयो ।

 

बैतडीको झुलाघाटबाट बिहीबार बेलुकी डडेल्धुरा आइपुग्नुभएका अध्यक्ष ओलीले हिजो विहान ऐतिहांसिक ढुंगे अमरगढी किल्लाको अवलोकन गर्नुभएको थियो । एमाले डडेल्धुराका अध्यक्ष गजेन्द्रबहादुर शाहीका अनुसार अमरगढी किल्ला अवलोकन गरेपछि उहाँले जिल्ला सदरमुकामस्थित बागबजारमा रहेको सहिद भिमदत्त पन्तको सालिकमा फूलमाला माल्यर्पण गरेपछि मात्र सभामा सहभागी हुनुभएको थियो ।