सामूहिक सुधार आए उदयपुर सिमेन्ट कारखाना पूर्णरूपमा सञ्चालनमा आउँछः अर्थमन्त्री डा. महत


अर्थमन्त्री डा. प्रकाशशरण महतले उदयपुर सिमेन्ट कारखाना देशकै लागि महत्वपूर्ण भएको बताउनुभएको छ । बुधबार उद्योग र उद्योगले प्रयोगमा ल्याएको खानी निरीक्षण गर्दै मन्त्री डा. महतले यो महत्वपूर्ण उद्योग सञ्चालनमा आएको समस्या सबै मिलेर समाधान गर्नुपर्ने बताउनुभयो । सामूहिक प्रयासबाट मात्र उद्योग पुनः सञ्चालनको सम्भावना रहेको निरीक्षणका क्रममा मन्त्री डा. महतले बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘सरकारले अनुदान दिएर मात्र समाधान निस्कदैन । व्यवस्थापन सुध्रिनुपर्यो, श्रमिकले जिम्मेवारीबोध गर्नुपर्यो । कसले जिम्मेवारी बोध नगर्दा यो अवस्था सिर्जना भयो ? यसको हामी सबैले मूल्यांकन र विश्लेषण गरौं । विगतबाट पाठ सिकेर आफूलाई परिवर्तन गर्नुपर्छ ।’

‘निजी क्षेत्रमा धेरै उद्योग व्यवसाय सञ्चालन हुन्छ । पाँच दर्जनभन्दा बढी निजी क्षेत्रको सिमेन्ट उद्योग छ । व्यवस्थापन र सरकारले ध्यान नदिएको श्रमिक साथीहरुबाट आयो’ उहाँले भन्नुभयो, ‘निजी क्षेत्रले आफैले जमिन किन्छ, उद्योग आफै बनाउँछ, ऋण लिएर मेसिन किन्छ र सञ्चालन गर्छ । सबै सञ्चालन खर्च तिरेर पनि नाफा कमाउँछ ।’

‘उदयपुर सिमेन्ट कारखाना जापान सरकारले सहयोग गरेको हो । त्यसबेला ४४ करोड लगानी भएको छ । अहिले पनि एक अर्ब रुपैयाँको साउब्याज केही तिर्नुपर्दैन, तिरेको पनि छैन । सञ्चालन खर्चको दायित्व पूरा गरे पुग्छ । तर सञ्चालन खर्चको दायित्व पनि पूर्ति गर्न सकेको छैन । अहिले ७५ करोड रुपैयाँको दायित्व देखिन्छ’ मन्त्री डा. महतले भन्नुभयो ।

उहाँले भन्नुभयो, ‘सरकारले व्यवस्थापक नियुक्ति गर्यो, त्यहाँ पनि कमजोरी छ । व्यवसायिकतालाई हामीले महत्व दिएनौं । व्यवस्थापनको नेतृत्व पनि त्यस्तै । श्रमिकले पनि हाम्रो जिम्मेवारी भनेको त सुविधा माग गर्ने हो भन्ने मात्र ठाने । त्यसको साझा परिणाम उद्योगको अहिलेको अवस्था हो ।’

‘कोभिडपछि मात्र यस्तो भएको हो भन्ने ठाउँ छैन । त्योभन्दा अगाडिदेखि नै समस्या थपिँदै आएको थियो । कोभिड तत्कालिक समस्या हो । समस्या आयो भनेर जिम्मेवारीबाट पन्छिने अवस्था पनि छैन । हामी सबै सुध्रिनेबाहेक अर्को विकल्प छैन’ उहाँले भन्नुभयो, ‘मेरोभन्दा पनि अझ बढी महत्व दिएर यसको सम्पत्ति रक्षा गर्नुपर्छ भन्ने मानसिकता हामीसँग भएन । यसैकारण नेपालमा सार्वजनिक क्षेत्र सफल हुन सकेको छैन ।’

‘मन्त्री डा. महतले भन्नुभयो, ‘उद्योगमा सरकारको सहभागिता जरुरी होइन । निजी क्षेत्रलाई प्रतिस्पर्धी बनाउन र मनोपलाइज हुन नदिन सरकारले लगानी गर्यो, विदेशी मित्र राष्ट्रले पनि सहयोग गर्यो, यसलाई निरन्तरता दिउँ भन्ने हो भने हामी सबैले थप जिम्मेवारीका साथ काम गर्न म अनुरोध गर्न चाहन्छु ।’

‘जापानको सहयोगमा बनेको हो, कामको संस्कृति पनि हामीले जापानको जस्तै विकसित गर्नुपर्छ । अप्ठ्यारो परेका बेला हामीले कम्पनीसँग माग्ने होइन, दिनुपर्छ भन्ने मानसिकता बनाउनुपर्छ’ मन्त्री डा. महतले भन्नुभयो, ‘अहिले हामीलाई सुविधा चाहिँदैन भन्नुपर्छ, रातविरात नभनी काम गर्नुपर्छ । यसलाई बचाउनु हाम्रो जिम्मेवारी हो, यसलाई बचायौं भने पछि सुविधा माग गरौंला । यो समृद्ध भयो भने त्यहीअनुसार माग गर्न पाइन्छ । यो नै मर्यो भने कहाँ कोसँग के माग्ने ?’

‘यो संस्कृति विकसित गरियो भने मात्र हामीले यो उद्योग बचाउन सक्छौं । यो परिवेश निर्माण भयो भने मात्र सरकार तत्कालिक अप्ठ्यारो फुकाउन लाग्छ’ उहाँले भन्नुभयो, ‘यसको लागि सामूहिक प्रतिबद्धता तपाईंहरुबाट आउनुपर्छ ।’

व्यवस्थापन र ट्रेड युनियनबाट प्रतिबद्धता आएन भने उद्योग बचाउन कठिन हुने उहाँका भनाइ थियो । उद्योग बचाउने प्रतिबद्धता गर्ने हो भने समयसँग नयाँ प्रविधिको उपयोग गरेर धेरै काम गर्न सकिन्छ । उदयपुर जिल्लाकै अर्थतन्त्रमा महत्वपूर्ण योगदान दिइरहेको यस उद्योग बचाउनुपर्छ भन्ने मानसिकता बोकेर काम गरियो भने सरकारले पनि सहयोग गर्छ उहाँले भन्नुभयो ।

‘दीर्घकालीन सोच राख्न म अनुरोध गर्छु, अहिले मैले के पाउँछु, के पाउँदिन भन्ने हेरियो भने भोलि केही पनि पाइँदैन । भोलिसम्म पाउन सुनिश्चिता गर्ने हो भने यहाँ भएका सबैको काममा व्यवसायिकता देखिनुपर्छ । यो संसारमा जो प्रतिस्पर्धी व्यवसायी हुँदैन, त्यो टिक्दैन’ मन्त्री डा. महतले भन्नुभयो, ‘प्रतिस्पर्धामा टिक्नुपर्छ । यो उद्योगमा अन्तबाट उठेको कर यहाँ हाल्दै जर्बजस्ती बचाउन सकिँदैन । यसलाई बचाउने हो भने व्यवस्थापन, मजदुर, सञ्चालक र स्थानीय सरकारले सामूहिक प्रतिबद्धता गरौं । यो प्रतिबद्धता आयो भने नगरिनहुने काममा सरकारले पहिलो चरणमा हेर्नेछ । त्यसपछि तपाईंहरुको परफमेन्स हेरेर सरकारले अगाडिको कदम चाल्नेछ ।’