चीनको कोइलाखानीमा दुर्घटना हुँदा १२ को मृत्यु, १३ घाइते


उत्तरपूर्वी चीनको एक कोइलाखानीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु हुनाको साथै १३ जना घाइते भएको राज्य नियन्त्रित सञ्चारमाध्यमले बिहीबार जनाएको छ ।

स्थानीय समय अनुसार घटना दिउँसोको ३ः५० बजे हेइलोङजियाङ प्रान्तको जिक्सी सहरको बाहिरी भागस्थित कोइला खानीमा भएको राज्य प्रसारक सिसीटिभीले जनाएको छ ।

दुर्घटनामा १२ जनाको मृत्यु तथा १३ जना घाइते भएको तथा घाइतेलाई उपचारका लागि अस्पताल पठाएको तथा थप अनुसन्धान भइरहेको सिसीटिभीले जनाएको छ ।

आधिकारिक तथ्याङ्क अनुसार गतवर्ष मात्र एक सय ६८ वटा खानी दुर्घटनामा दुई सय ४५ जनाको मृत्यु भएको थियो । गत नोभेम्बरमा हेलोङजियाङस्थित कोइला खानीमा भएको दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो ।

यसैगरी सेप्टेम्बरमा चीनको गोन्झाउ प्रान्तको एक कोइलाखानीमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको थियो । रासस\रएएफपी