कोरियामा ४ नेपालीको मृत्यु


दक्षिण कोरियामा एक हप्तामा ४ जना नेपालीको मृत्यु भएको छ । विभिन्न दुर्घटनामा सोलुखुम्बु नेचासल्यानका रन्जन राई, नुवाकोट दुप्चेश्वरका पासाङ स्याङ्बा, पाँचथर लिगिम्बाका नरेन्द्र केरुङ र मोरङका रोहित मगरको मृत्यु भएको हो ।

गजेदोको पानी जहाज निर्माण कम्पनी हान्वा ओसनमा कार्यरत राईको शनिबार र छनानमा कार्यरत केरुङको सुतेकै अवस्थामा शुक्रबार निधन भएको थियो ।

छुन्छन् नाम्दो येसन सीमा कम्पनीमा दुर्घटनामा परी स्याङ्बाको शुक्रबार मृत्यु भएको र बिरामी परेका मगरको उपचारको क्रममा ज्यान गएको हो । मगर थेगु क्षेत्रमा काम गर्दै आएका थिए ।

राई सोलुखुम्बु सेवा समाजका पूर्वउपाध्यक्षसमेत थिए । सोलुखुम्बु समाजका अध्यक्ष राजु राईले रन्जनको शव पोस्टमार्टमका लागि अस्पताल लगिएको र मृतकको परिवारसँग सम्पर्क भइसकेको कान्तिपुरसँग बताए ।

स्याङ्बा पहिलो पाँच वर्ष सकाएर दोस्रो कार्यकालको रुपमा कोरिया आएकी थिइन् । ह्योल्मो सम्पर्क समितिका निर्वतमान अध्यक्ष बाबुज्याबा हृयोल्मोका अनुसार स्याङ्बा सेफ्टी नेट, प्यारासुटहरुमा प्रयोग हुने धागो बनाउने कम्पनीमा कार्यरत थिइन् । उनको कार्यस्थल दुर्घटनामा ज्यान गएको ह्योल्मो बताए ।