थानकोट–चित्लाङ सडक तत्काल मर्मत गर्न सरकारको ध्यानाकर्षण


अस्तव्यस्त र जोखिमपूर्ण अवस्थाको थानकोट–चित्लाङ सडक तत्काल मर्मत गर्न सांसदहरूले माग गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी, एमालेलगायत दलका सांसदहरूले जोखिमपूर्ण सडक मर्मत गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक निशा डाँगी, महामन्त्री सुमना श्रेष्ठ, एमालेका सचेतक महेश बर्तौलालगायतले उक्त सडकखण्ड स्तरीकरणका लागि मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले भौतिकमन्त्री र एमाले सचेतक बर्तौलाले भौतिक पूर्वाधार तथा यातायात सचिव केशवप्रसाद शर्मा, संघीय सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख अर्जुनप्रसाद अर्याल र सडक डिभिजन कार्यालयका प्रमुख नारायण भण्डारीलाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका हुन् । बर्तौलाले सरकारले आवश्यक बजेट नदिएका कारण ऐतिहासिक महत्वको उक्त सडकको दुरावस्था भएको बताए ।

‘आजको छलफलपश्चात् तत्काल कार्यान्वयन गर्ने गरी केही निर्णयसमेत गर्न लगाएको छु,’ बर्तौलाले फेसबुकमा लेखेका छन्, ‘उहाँहरूले कार्यालयको तर्फबाट तत्काल काम अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।’

सडकको तत्काल मर्मत प्रक्रिया अगाडि बढाउने तथा सडकछेउका जोखिम स्थानहरूमा सुरक्षा पर्खाल राख्ने प्रक्रिया अगाडि बढाउने सरकारी अधिकारीहरूले बताएका छन् । उक्त सडकखण्डमा शनिबार कार दुर्घटना हुँदा एकै परिवारका पाँचजनाले ज्यान गुमाएका थिए । चालू आवमा कालोपत्रेका लागि दुई करोड र डेढ करोड मर्मत–सम्भारका लागि बजेट छुट्याइएको छ ।

थानकोटदेखि मकवानपुरसम्म करिब २२ किलोमिटर सडक मर्मत–सम्भारका लागि चालू आर्थिक वर्षमा सडक बोर्डबाट ढेड करोड रुपैयाँसमेत विनियोजन गरिएको छ । तर, मर्मत–सम्भार अझै सुरु भएको छैन । सडक जीर्ण, अस्तव्यस्त भएपछि चित्लाङ तथा मकवानपुर क्षेत्रका स्थानीयले पटक–पटक ध्यानाकर्षण गराउँदै आएका थिए भने सडक बन्द गरेरसमेत प्रदर्शन गरेका थिए । नयाँ पत्रिकाबाट