सुन्तला बिक्रिबाट एउटै वडामा ११ करोड भित्रियो ।


भिरकोट –७ का वडाध्यक्ष एवं सुन्तला सुपरजोन स्याङ्जाका सञ्चालक समिति अध्यक्ष ताराप्रसाद अर्यालले आफ्नो वडामा यसवर्ष सुन्तला बिक्रीबाट रु ११ करोड बढी भित्रिएको बताए । करिब एक सय घरपरिवारले व्यावसायिकरूपमा सुन्तला उत्पादन गर्दै आइरहेका उनले जानकारी दिए । “यस वडाका अधिकांश किसान व्यावसायिकरूपमा सुन्तलाखेतीमा आबद्ध हुनुहुन्छ”, अध्यक्ष अर्यालले भने, “यहाँ यस वर्ष सबैभन्दा थोरैमा रु ५० हजारदेखि लिएर धेरैमा रु ३० लाखसम्म आम्दानी गर्नुभएको छ ।”

तिहारका बेलादेखि सुन्तला बजार पठाउन सुरु गरेर माघको दोस्रो सातासम्म सबै बिक्री गरिसक्ने अध्यक्ष अर्यालले जानकारी दिए । सुरुमा प्रतिकेजी रु ४० मा बिक्री गरेको सुन्तला अन्तिममा आइपुग्दा प्रतिकेजी रु ७० का दरले बिक्री भएको जनाइएको छ । “यहाँ उत्पादन भएका सुन्तला किसान आफैँले बिक्री गर्ने, बगैँचा नै ठेक्का दिने वा तौलेर अन्यत्र पठाउने गरिन्छ”, उनले भने, “विशेषगरी यहाँका सुन्तला काठमाडौँ, पोखरा, नारायणगढ, बुटवलजस्ता सहरमा जाने गरेको छ ।” रातोपाटीबाट…