हारबाट जोगिए कृष्ण प्रसाद सिटौला


नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला हारको ह्याट्रिकबाट जोगिएका छन् । बिहीबार सम्पन्न राष्ट्रियसभा निर्वाचनको मतगणनामा उनले राप्रपाका उम्मेदवार उद्धव पौडेललाई पराजित गर्दै राष्ट्रियसभाको यात्रा सुरक्षित गरेका हुन् । तर, निर्वाचनको मतगणना रोचक हुन पुग्यो । सिटौलाले प्रदेशतर्फ ४५ सांसदको मत पाउँदा उद्धवले ४७ सांसदको मत पाएका थिए । अर्थात गठबन्धनबाट पाउनुपर्ने मत उनले पाएका थिएनन् । तर, स्थानीय तहतर्फ भने उनले सोचेअनुसार मत पाएपछि सकारात्मक नतिजा प्राप्त भयो ।

स्थानीय तहतर्फ सिटौला १५३ जनाको मत पाउँदा उद्धवले १०९ जनाको मात्रै मत पाए । यस्तै एमालेका पर्शुराम अधिकारीले ५ जनाको मत पाए । यस्तै उम्मेदवारी निष्क्रिय बनाएपनि अधिकारीले प्रदेशतर्फ १ मत पाएका थिए  नतिजाअनुसार विजयी सिटौलाले कुल ५२९२ मतभार प्राप्त गरे भने पौडेलले ४५६२ मतभार प्राप्त गरे । यस्तै अधिकारीले १४८ मतभार प्राप्त गरे ।

लगातार २०७४ र २०७९ को निर्वाचनमा पराजित बनेका सिटौला बिहीबार सम्पन्न निर्वाचनमा भने विजयी भएसँगै अब उनलाई राष्ट्रियसभा अध्यक्षको प्रमुख दाबेदारको रूपमा समेत हेरिएको छ । सिटौला २०७४ सालको निर्वाचनमा राप्रपाका तत्कालीन महामन्त्री राजेन्द्र लिङ्देनसँग पराजित बनेका थिए । तत्कालीन नेकपा गठबन्धनसँग तालमेल गरेर लिङ्देनले आफ्नो पक्षमा निर्वाचन पर्दा सिटौलाले भने हारको स्वाद चाखेका थिए ।

२०७४ मा झापा–३ मा लिङ्देनका लागि वाम गठबन्धनको साथ लिएर राप्रपाले झापा ५ मा केपी ओलीलाई सघाएको थियो । त्यतिबेला लिङ्देन ४४ हजार ६१४ मतका साथ विजयी हुँदा सिटौलाले ३१ हजार १७१ मत पाए । पाँच वर्षपछि झापा ३ मा फेरि सिटौला र लिङ्देन चुनावी प्रतिस्पर्धामा हुँदा सिटौला फेरि पराजित बनेका थिए । लिङ्देन ४० हजार ६६२ मतका साथ विजयी हुँदा सिटौलाले सत्ता कांग्रेस–माओवादीसहितको गठबन्धन हुँदा पनि ३७ हजार ३८६ मत पाएर पराजय भोगेका थिए । दोस्रो पटक लिङ्देनले जित्दा पनि एमालेले उनलाई सहयोग गरेको थियो ।

२०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा भने लिङ्देन सिटौलासँग पराजित भएका थिए । सिटौलाले १४ हजार ३५५ मत ल्याएर सांसद निर्वाचित हुँदा लिङ्देन दोस्रो भएका थिए । यसअघि २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा भने लिङ्देनले उम्मेदवारी दिएका थिएनन् । तर, सिटौला झापा–३ मा माओवादी नेता पूर्णसिंह राजवंशीसँग पराजित भएका थिए । रातोपाटीबाट…