विद्रोहीहरूले गरेको बम विस्फोटमा बिहीबार कम्तीमा १९ जना सर्वसाधारणको मृत्यु


लोकतान्त्रिक गणतन्त्र कंगोको पूर्वी म्वेसो सहरमा विद्रोहीहरूले गरेको बम विस्फोटमा बिहीबार कम्तीमा १९ जना सर्वसाधारणको मृत्यु भएको सेनाले प्रेस विज्ञप्तिमार्फत जनाएको छ । मार्च २३ आन्दोलनका विद्रोहीहरूले १२० भन्दा बढी गोलाबारी प्रहार गरी गरेको आक्रमणमा १९ जनाको मृत्यु हुनुका साथै २७ जना घाइते भएको बताइएको छ । अधिकारीहरूले उक्त आक्रमणलाई आतंकवादी कार्य र अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन मानेका छन् । संयुक्त राष्ट्रसंघका अनुसार सन् २०२३ मा पूर्वी कंगोमा उच्च स्तरको हिंसा र विस्थापनका कारण मानवीय संकट अझै बिग्रिएको छ । सन् २०२१ को अन्त्यमा पुनःरुत्थान भएको विद्रोही समूहले द्वन्द्व र मानवीय संकट निम्त्याएको छ र कंगोको भूमिमा प्रमुख किल्लाहरू कब्जा गरेको छ ।

यसैबीच, गणतन्त्र कंगोमा संयुक्त राष्ट्र संघका एजेन्सीहरूले बिहीबार देशभरका बाढी पीडितहरूका लागि लगभग ३६ लाख अमेरिकी डलर परिचालन गरेका छन् । विपद् राहत कोष कंगोमा संयुक्त राष्ट्रसंघका एजेन्सीहरूका संयोजक क्रिस एमबुरुले सामाजिक मामिला, एकता तथा मानवीयकार्यमन्त्री इरेन मेरी सिसिल एमबुकोउ–किम्बाट्सालाई हस्तान्तरण गरेका थिए । लिकौला, प्लेटक्स, क्युभेट र पुल गरी चारवटा विभागहरूका लागि बनाइएको कोषले स्थानीय सरकारलाई पानी, सरसफाई, स्वास्थ्य र खाद्य सुरक्षाको समस्या सामना गर्न सक्षम बनाउनेछ । कंगोमा संयुक्त राष्ट्रसंघका एजेन्सीहरूले बाढी पीडितहरूका लागि आपतकालीन मानवीय प्रतिक्रियामा सरकारलाई सहयोग गर्न ३६ लाख जारी गरेको एमबुरूले बताए ।

राष्ट्रव्यापी भारी वर्षाका कारण आएको बाढीबाट कम्तीमा २३ जनाको मृत्यु भएको सरकारी प्रवक्ता थिएरी मोंगाल्लाले बताएका छन् । बाढीका कारण कूल तीन लाख ३६ हजार ५६० जना मानिस प्रभावित भएका थिए । तीमध्ये ६ हजार १७८ जना विस्थापित भएका थिए । बाढीले प्रभावित क्षेत्रका २६ वटा स्वास्थ्य केन्द्र १२० वटा विद्यालय र करिब ६४ हजार घरहरूमा पूर्णरुपमा क्षति पुर्‍याएको छ । रासस र सिन्ह्वा…