कांग्रेसका महामन्त्री गगन थापाको आजदेखि झापाबाट ‘संवाद यात्रा’ सुरु


नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आजदेखि झापाबाट ‘संवाद यात्रा’ सुरु गर्न लागेका छन् । महामन्त्री थापाले आज बिहान ८ बजे झापाको मेची भन्सारबाट यात्रा आरम्भ गर्ने भएका हुन् । समुदायमा कांग्रेस अभियानअन्तर्गत यात्रा शुभारम्भ कार्यक्रममा कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला पनि सहभागी हुने कांग्रेस झापाले जनाएको छ । महामन्त्री थापाले शनिबार बिहान ८ बजे मेची पुलमा माल्यार्पण गरेर यात्रा शुभारम्भ गर्नेछन् । पार्टीका कार्यकर्ताहरू र जनताका गुनासा र सुझाव लिन महामन्त्री थापाले संवाद यात्रा गर्न लागेका हुन् । संवाद यात्रामा जनताका कुरा सुन्ने, आफ्ना कुरा नभन्ने ९भाषणका कार्यक्रम नगर्ने० तयारी छ ।

कांग्रेसले केन्द्रीय समितिबाट निर्णय गरी १२ देखि २६ माघसम्म ‘समुदायमा कांग्रेस’ अभियान सञ्चालन गरेको छ । महामन्त्री थापाले पार्टीले गर्ने कार्यक्रमसँगै संवाद यात्रा थालनी गर्न लागेका हुन् । महामन्त्री थापा शनिबार बिहान ९ः३० बजेदेखि १० बजेसम्म झापा चोकमा चिया संवाद गर्नेछन् । थापाको संवाद यात्रा कांग्रेसका नेता–कार्यकर्ता मात्र भेट्ने नभएर आम नागरिकसँग संवाद गर्ने भएकाले सबैसँग संवाद गर्ने कार्यक्रम रहेको थापाको सचिवालयले जनाएको छ ।

थापाले बुधबार बिहान १० बजे कञ्चनश्रीमा हात्ती प्रभावित क्षेत्रको अवलोकन गर्ने, ११ देखि १२ बजे कृषक समूहसँग संवाद गर्ने, १२ः३० बजेदेखि २ बजेसम्म झापा बजारमा खुला संवाद गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी, कन्जीबारीमा पैदलयात्रा गर्दै कन्काई नदी तर्ने, दिउँसो ३ बजे खजुरागाछीमा खुला संवाद गरी ४ बजे झापाको चौकीघाटबाट मोरङ प्रस्थान गर्ने कार्यक्रम रहेको छ । संवाद यात्राका लागि महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुग्ने कार्यक्रम रहेको छ । संवाद यात्रा २६ माघमा सकिनेछ । रातोपाटीबाट…