नेपाली टोली बलियो प्रतिद्वन्द्वी बंगलादेशसँग पाँच विकेटले पराजित


दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताको ‘सुपर सिक्स’ चरणको बुधबार खेलिएको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाली टोली बलियो प्रतिद्वन्द्वी बंगलादेशसँग पाँच विकेटले पराजित भएको हो । टस जिती पहिले ब्याटिङ रोजेको नेपालले ४९-५ ओभरमा अलआउट हुनुअघि एक सय ६९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको बंगलादेशले भने २५।२ ओभरमै पाँच विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो ।

बंगलादेशको जितमा ओपनर ब्याट्सम्यान सिजन आलमले अर्धशतकीय पाली खेले । उनले ५५ रन बनाए । उनले केवल ४३ बलको सामना गरी दुई छक्का र ६ चौका पनि हिर्काए । चौथो नम्बरका ब्याट्सम्यान अरिफुल इस्लामले पनि अविजित ५९ रनको योगदान गरे । आक्रामक रुपमा प्रस्तुत भएका अरिफुल इस्लामले ३८ बलको सामना गरी दुई छक्का र सात चौका हिर्काए । नेपाली टोलीका बलर सुवाष भण्डारी एक्लैले पाँच विकेट लिए । उनले आठ ओभरमा ४४ रन खर्चिएका थिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालका लागि विशालबिक्रम केसीले सर्वाधिक ४८ रनको योगदान गरेका थिए । उनले एक सय बलको सामना गरी ६ चौका पनि हिर्काए । कप्तान देव खनालले पनि टोलीको खातामा ३५ रन थपे । उनले ६० बलको सामना गरी तीन चौका हिर्काएका थिए । सुवाष भण्डारी १८ रनमा अविजित रहे । ओपनर ब्याट्सम्यान अर्जुन कुमालले १४ रन बनाएका थिए । नेपालका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन् । नेपालले अतिरिक्त रुपमा पनि ३१ रन पाएको थियो ।