पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको भाउ बढ्यो


सरकारले पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने ग्यासको भाउ बढाएको छ। बिहीबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र ग्यासको भाउ बढाएको हो। निगमले बुधबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा चार रूपैयाँ, डिजेल तथा मट्टीतेल लिटरमा २ रूपैयाँ र खाना पकाउने ग्यास प्रतिसिलिन्डर १५ रूपैयाँ बढाएको जानकारी दिएको छ। भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर ४ रूपैयाँ ५३ पैसा, डिजेलमा दुई रूपैयाँ ३२ पैसा र ग्यास प्रतिसिलिन्डर १५ रूपैयाँ ७८ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको छ। निगमले मूल्य अभिवृद्धि करको प्रभाव एवं हालसालै लागू भएको पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि-२०८० अनुसार आइओसीले पठाएको मूल्यमा नेपाली बजारको भाउ तय गरिएको जनाएको छ।

निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ। निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ। पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १६७ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५५ रूपैयाँ ५० पैसा पर्नेछ। त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १६९ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५७ रूपैयाँ पर्नेछ। तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १७० रूपैयाँ प्रतिलिटर पर्नेछ।त्यस्तै डिजेल र मट्टीतेल १५८ रूपैयाँ पर्नेछ। खाना पकाउने ग्यासको भाउ भने देशभर १ हजार ९ सय १० रूपैयाँ भएको छ। रातोपाटीबाट…