मेस्सीको मियामीको लज्जास्पद हार


लियोनल मेस्सीको इन्टर मियामीले अल नासारसँगको मैत्रीपूर्ण खेलमा लज्जास्पद हार बेहोरेको छ। साउदी अरेबियामा‌ बिहीबार भएको खेलमा मियामीविरुद्ध अल नासारले‌ ६-० जित निकालेको थियो। मेस्सी र लामो समयदेखि उनका प्रतिद्वन्दी रहेका क्रिस्टियानो रोनाल्डोबीचको‌ रोमान्चक भिडन्त हेर्ने दर्शकहरुको चाहाना भने पूरा भएन । चोटका कारण रोनाल्डोले दर्शनदिर्घामा रहेर खेलको मज्जा लिएका थिए। मेस्सी पनि‌ अन्तिम सात मिनेट मात्र खेलेका थिए। उनले नतिजामा‌ प्रभाव पार्ने अवस्था नै थिएन। किनकी टोली त्यतिबेला सम्म ६(० ले पछि परिसकेको थियो। म्यानचेस्टर सिटीका पूर्व डिफेन्डर एमिरिक लापोर्टेले आफ्नो हाफबाट फ्रिकिकमा सनसनीपूर्ण गोल गरेका थिए।

ब्राजिलियन टालिस्काले‌ ह्याट्रिक पूरा गरेको खेलमा साउदीको प्रो लिग टोलीले सुरुवाती १२ मिनेटमा नै ३-० को अग्रता लिएको थियो। टालिस्काले व्यक्तिगत पहिलो गोल गर्नुअघि ओटाभियोले टोलीको लागि गोलको खाता खोलेका थिए। त्यसपछि लापोर्टेले लामो फ्रिकिकमा गोल गर्दा मियामीका गोलकिपर ड्रेक क्यालेन्डरले रोक्न सकेनन्। टालिस्काले पेनाल्टीमा दोस्रो गोल गरेपछि ५१ औं मिनेट अल नासर ४-० ले अगाडि रह्यो। टालिस्काले हेडर गोल गरेर ह्याट्रिक पूरा गर्नुअघि टोलीका लागि मोहम्मद मारनले पाँचौं गोल गरेका थिए। ऐजेन्सी….