सभापति रवि लामिछानेले दलको बैठक बोलाए


प्रतिनिधिसभाको हिउँदे अधिवेशन बस्नुअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पूर्वतयारीका लागि दलको बैठक बोलाएका छन् । संसद् सचिवालयले संसद् बैठक अपराह्न ४ बजे बोलाएको छ । त्यसअघि रास्वपाले संसदमा कसरी प्रस्तुत हुने भन्ने सवालमा आफ्ना सांसदहरूसँग छलफल गर्न लागिएको उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए । उनकाअनुसार बैठक दिउँसो २ बजे संसदीय दलको कार्यालयमा बोलाइएको छ । यो पटक रास्वपाले अत्यावश्यक कानुन निर्माण र संविधान कार्यान्वयनमा सरकारमाथि दबाब बढाउने तयारी गरेको छ । त्यसका लागि संसद् र संसदीय समितिमा अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ । सोमबार बस्ने बैठकमा दलका नेता रविले संसदमा प्रस्तुत गर्ने एजेन्डाबारे छलफल हुने अर्यालले बताए ।

‘संसद् बैठकमा कसरी प्रस्तुत हुने विषयमा दलका नेताले सांसदहरूसँग छलफल राख्नुभएको हो । यसअघि बसेको बैठकमा सांसदहरूले आ–आफ्ना समिति र संसदमा उठाउने एजेन्डाबारे छलफल भएको थियो’, अर्यालले भने, ‘यो पटक अत्यावश्यक कानुन निर्माणमा हाम्रो ध्यान केन्द्रित गर्छौँ । संविधान कार्यान्वयनमा सरकारलाई प्रभावकारी रूपमा दबाब दिन्छौँ ।’

यसअघि रविले विषयगत समितिमा रहेका सांसदहरूलाई तीन वटा प्रश्नको उत्तर लिएर आउन निर्देशन दिएका थिए । त्यसबारे माघ १९ गते बसेको दलको बैठकमा छलफल भएको थियो । यस्तै रास्वपाले सुशासन, विकास आयोजना निर्माण, जनजीविकाका विषयमा संसदमा कडा रूपमा प्रस्तुत हुने भएको छ । रातोपाटीबाट…