पीएसजी युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश


फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति स्पेनिस क्लब रियल सोसिडाडलाई राउन्ड अफ सिक्सटीनको दोस्रो लेगमा २–१ गोल अन्तरले पराजित गरेपछि समग्रमा ४–१ को नतिजासहित क्वाटरफाइनलमा स्थान बनाएको हो । पीएसजीले पहिलो लेगमा २–० ले पराजित गरेको थियो भने मंगलबार राति भएको दोस्रो लेगमा २–१ को नतिजा निकाल्न सफल भयो । पीएसजीका लागि दुवै गोल केलियन एम्बाप्पेले गरेका हुन् ।

खेलको १५ औँ मिनेटमा ओस्मन डिम्बेलेको पासमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । ५६ औँ मिनेटमा ली काङको पासमा एम्बाप्पेले नै दोस्रो गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए । ८९ औँ मिनेटमा रियर सोसिडाडका लागि मिकेल मेरिनोले गोल फर्काए पनि हार टार्न पर्याप्त भएन ।
रातोपाटीबाट…